पर्यटनविद् ऐरको ‘कञ्चनपुरदेखि कञ्चनजंघा’ कवितामय फन्को देशको’ नामक पुस्कत लोकार्पण

पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने समीक्षकहरुको टिप्पणी
२० भाद्र २०८० भाद्र ।
घुमफिरका अनुभूतिहरूलाई कवितामा ढाल्दै आएका पर्यटनविद् हिक्मत सिंह ऐरको मुलुक चिनाउने कविता संग्रह ‘कञ्चनपुरदेखि कञ्चनजंघा’ कवितामय फन्को देशको लोकार्पण गरिएको छ ।
नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री एनपी साउदले कवि ऐरको सो पुस्तक लोकार्पण गर्नुभएको थियो । पर्यटन क्षेत्रमा दुई दशकभन्दा बढी समय काम गर्दा सुदूरपश्चिमको तराई कन्चनपुरदेखि पूर्व हिमालको कञ्चनजंघा बेस क्याम्पसम्म पुग्दाका अनुभव र अनुभूतिलाई कवितामय वर्णन कवि ऐरले यस कविता संग्रहमा गरेका छन् । यस सङ्ग्रहमा कविका मनका रहरहरु, भोगाइ र यस देश र समाजप्रति समर्पित केही भावहरु पनि विभिन्न कविताहरु मार्फत प्रस्तुत गरिएको छ ।
कविता संग्रहको लोकार्पण गर्दै परराष्ट्र मन्त्री एनपी साउदले कवितामा मूलभूत रुपमा राष्ट्रियता, प्रकृतिप्रेम र देशको पर्यटनको सम्भावनाका विषय समेटिएकोले कविता संग्रह नेपालको समग्र पर्यटन बुझ्ने आखिँझ्याल रहेको बताउनुभयो ।
कृतिको समीक्षा कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले कविता संग्रह सिंगो नेपालको उज्यालो प्रतिविम्ब भएको उल्लेख गर्दै भूस्वर्गका रुपमा रहेको नेपालको आन्तरिक पर्यटन प्रर्वद्धनमा कविता संग्रह सहयोगि बन्ने बताउनुभयो ।
कविता संग्रहका विषयमा टिप्पणी गर्दै साहित्यकार चेतनाथ कंडेल, संस्कृतिविद् प्राज्ञ यज्ञराज उपाध्याय, पत्रकार अमृत भादगाउँले, डा.नवल त्रिपाठी लगायतले कविता संग्रहले पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताउनुभएको थियो ।
कार्यक्रममा टिप्पणीकारहरूले यो पुस्तक नेपाल जान्न चाहने, देश चिन्न खोज्ने समेतलाई उपयोगी हुने विश्वास व्यक्त गर्दै सरल अनि कलात्मक भाषामा लेखिएका कवितासँग सम्बन्धित ठाउँका रङ्गीन तस्बिरहरू पनि लेखकले यस कविता संग्रहमा राख्नुभएको छ ।
बुक्स हिमालयले प्रकाशन गरेको यस पुस्तकमा सातै प्रदेशलाई ब्राडिंग गर्दै नेपालका हिमाल, पहाडतराई, चुरेभावरका जङ्गल, नदीनाला, संस्कृति र सम्पदाले भरिपूर्ण अलौकिक देवभूमिका मठमन्दिर, गुम्बा, पैत्य, मौलिक खानपिन, रहनसहन एवं अन्य विशेषताले भरिपूर्ण गन्तव्यहरूमा बटुलिएका अनुभव र अनुभूतिलाई कवितामा वर्णन गरिएको छ ।
२३ वर्ष देखि नेपाल पर्यटन बोर्डमा कार्यरत कवि हिकमत सिंह ऐर हाल नेपाल पर्यटन बोर्डमा बरिष्ठ निर्देशक हुनुहुन्छ ।सो पुस्तकले समग्र नेपाललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराई नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने पर्यटनविदहरुले बताएका छन् ।