कागेश्वरी मनोहरा नगरपालिका बालश्रम मुक्त बन्ने अभियानमा

२१ वैशाख २०८० ।
कागेश्वरी मनोहरा नगरपालिका बालश्रम मुक्त नगरपालिका बन्ने अभियानमा लागेको छ ।
नगर बाल अधिकार समितिको आज बसेको बैठकमा नगर प्रमुख उपेन्द्र कार्कीले नगरपालिका बालश्रम मुक्त बनाउने अभियानमा नगरपालिका लागेको बताउदै यसका लागि आवश्यक सहयोग गर्न सरोकारवाला निकायहरुलाई आग्रह गर्नुभएको थियो ।
नगरपालिका सबै बालबालिकाको हक अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउदै नगर प्रमुख कार्कीले नगरपालिका क्षेत्रभित्र भएका बाल गृहहरुको सुधार र बालश्रम अन्त्यका लागि नगरपालिकाले कार्यविधि बनाएर कार्य गर्ने पनि बताउनुभयो ।
आवाजविहिनहरुको आवाज बनेर नगरपालिकाले कार्य गर्ने नगर प्रमुख कार्कीको भनाई थियो । बैठकमा नगर बाल अधिकार समितिका संयोजक एवम् कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख शान्ता थापाले नगरलाई बालश्रम मुक्त बनाउन आफूले नियमित रुपमा बाल गृहहरुको अनुगमन गर्ने गरेको बताउदै बाल गृहहरुको सुधारका लागि दिइएका सुझाव कार्यान्वयन नगर्ने बालगृहहरुलाई कारवाही गरिने बताउनुभएको थियो ।
बैठकमा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तोलाले नगरपालिकाले कानून बमोजिम बालबालिकाको हक अधिकार सुनिश्चितताका लागि कार्य गरिरहेको बताउदै बालश्रम मुक्त नगरपालिका बनाउनका लागि आगामी दिनमा अझ बढि सक्रिय भएर लाग्नुपर्ने बताउनुभएको थियो ।
बैठकमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ का वडा अध्यक्ष समेत रहनुभएका नगर बाल अधिकार समितिका सदस्य भिमसेन थापाले अनुगमन समितिले नगरपालिका क्षेत्रमा बालबालिकाको अवस्था, बाल गृहहरुको अवस्था लगायत समग्र बालबालिकाको अवस्था समेटिएको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा कागेश्वरी मनोहरा नगरपालिका शिक्षा तथा खेलकूद शाखाका उपसचिव गोविन्द प्रसाद शर्मा, आर्थिक प्रशासन शाखा प्रमुख बालकृष्ण दाहाल, स्वास्थ्य शाखा प्रमुख कुमार सिंह डाँगी लगायतले आजका बालबालिका भोलिका राष्ट्रका कर्णधार भएकोले बालबालिकाको हक अधिकार सुनिश्चित गर्न सरोकारवाला सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
बैठकमा कागेश्वरी मनोहरा नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण शाखाका प्रमुख सबिना श्रेष्ठले चालु आ.ब.को साउन महिना देखी हाल सम्म महिला, बालबालिका तथा समाज कल्याण शाखाले बाल अधिकारको क्षेत्रमा गरेका समग्र कार्यहरुको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा बाल अधिकारकर्मी एवम् नगर बाल अधिकार समितिका सदस्य बासु फुयाँलले नगर क्षेत्रमा भएका बालबालिकाको समग्र अवस्था लगायत बालबालिकाको संरक्षणका लागि भएका प्रयासहरुको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
बैठकमा कागेश्वरी मनोहरा नगरपालिका नगर कार्यपालिका सदस्यहरु रुपमति भण्डारी र सारा पुकुर्टी, नगर सभा सदस्य प्रेम कुमार लामा लगायत नगर बाल अधिकार समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।