कागेश्वरी मनोहरा नगरपालिकाले विश्व पर्यटन दिवस आज भव्य रुपमा मनाउदै

११ असोज २०७९ ।

कागेश्वरी मनोहरा नगरपालिकाले आज विश्व पर्यटन दिवस भव्य रुपमा मनाउने भएको छ ।
नगरपालिकाले वडा नं.१ गागलफेदीमा रहेको प्रसिद्ध कागेश्वरी धाममा विशेष कार्यक्रम गर्ने तयारी गरेको छ । कार्यक्रममा बृक्षारोपण पनि गरिने छ ।
कागेश्वरी मनोहरा नगरपालिकालाई समृद्ध र पर्यटकीय नगरपालिका बनाउने उद्देश्यका साथ नगरपालिकाले हाल कार्य गरिरहेको नगर प्रमुख उपेन्द्र कार्कीले बताउनुभयो ।
कागेश्वरी धामलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यका साथ नगरपालिकाले विश्व पर्यटन दिवस मनाउन लागेको बताउनुभयो ।
लायन्स क्लव काठमाडौं कागेश्वरी मनोहराको संयोजनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नेपाल पर्यटन बोर्ड र कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा पर्यटन दिवस कागेश्वरी मनोहरा नगरपालिकामा मनाउन लागिएको हो ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा आज बिहान ८ बजे हुने सो कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी, कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख शान्ता थापा, नेपाल पर्यटन बोर्डका बोर्ड सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी, वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर तथा कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिहरु, निजि क्षेत्रका प्रतिनिधिहरु लगायत सरोकारवालाहरुको सहभागिता रहने वडा नं.१ का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेलले जानकारी दिनुभयो ।