संस्कारयुक्त पारिवारिक एवम् सामाजिक रुपान्तरणको लागि सकारात्मक सोच विषयक जनचेतनामूलक प्रशिक्षक कार्यक्रम सम्पन्न

 

२५ चैत्र २०७५
काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटारमा संस्कारयुक्त पारिवारिक एवम् सामाजिक रुपान्तरणको लागि सकारात्मक सोच विषयक जनचेतनामूलक प्रशिक्षक कार्यक्रम सम्पन्न भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ गोठाटारमा रहेको जागरण महिला अभियानले सो कार्यक्रम २०७५ चैत्र २२ गते आयोजना गरेको थियो ।
कार्यक्रमको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले गर्नुभएको थियो ।

सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुँदै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले घरपरिवारबाटै राम्रो संस्कारको विकास भएमा समाज र राष्ट्रको विकास र समृद्धिमा सहयोग पुग्ने बताउनुभएको थियो ।
सो अवसरमा नगर प्रमुख थापाले स्वच्छ सफा हराभरा, बनाऔं कागेश्वरी मनोहरा भन्न उद्येश्यका साथ नगरपालिकाले कार्य गरिरहेको बताउदै नगरपालिकाले नगरको समग्र विकास र समृद्धिलाई ध्यानमा राखेर कार्य गरिरहेको बताउनुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. २ का क्षेत्रिय सभापति उपेन्द्र कार्की, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष कुन्दन खड्का र नगर कार्यपालिका सदस्य कला घिमिरेले समाजमा सकारात्मक सोचको विकास गर्नका लागि यस कार्यक्रमले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै समाजमा परिवर्तका लागि घरपरिवारबाटै परिवर्तनको शुरुवात गरी विभिन्न चेतनामूलक कार्य गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा जागरण महिला अभियानका अध्यक्ष जानुका ऐरी र महासचिव सुशिला नेपाल लगायतले समाजमा सकारात्मक सोचको विकास गर्ने उद्येश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुहुदै जागरण महिला अभियानले महिलाहरुको हक, हित, क्षमता विकास र महिला सशक्तिकरणको क्षेत्रमा कार्य गरिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा संस्कारयुक्त पारिवारिक एवम् सामाजिक रुपान्तरणको लागि सकारात्मक सोच विषयक प्रशिक्षक रविन कटुवालले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ का वडा सदस्य डोलनाथ पोखरेल, हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामेश्वर दाहाल, सहकाली बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक बालकुमार बास्तोला लगायत जागरण महिला अभियानका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।