हाम्रो भाषाशैली


२५ चैत्र काठमाडौं ।
डा.गणेशराज अधिकारी

भाषा विचार विनिमयको माध्यम हो । भाषाकै माध्यमबाट हामी हाम्रा विचार अरु समक्ष राख्छौं । हाम्रा विचार राम्रा कुराका रुपमा राख्ने कोशिस गछौं । सकेसम्म हाम्रा विचार चाम्रा हुन नदिन प्रशस्त भाषिक अवयवको उपयोग गर्दछौं । यसरी उपयोग गरिने भाषिक अवयव लवजका रुपमा व्यवहृत रहन्छन् ।

भाषिक व्यवहारका यथेष्ट विषय क्षेत्रहरु छन् । हामी सबै विषयमा एकै पटक जान सक्दैनौं । त्यसका सीमा र बन्देजहरु छन् । समयको पावन्दी र विषयको बन्देज भित्र रहेर हामी भाषिक व्यवहारका विषय खोतल्छौं । यसरी खोतलिने विचार हाम्रा दैनिकी वा दैन्दिनी घटना र भाषाको प्रयोग क्षेत्रसंग सम्बन्धित रहन्छन् ।
केही दृष्टान्तहरु हेरौं
हामी पानी खाने भन्छौं । पानी पिउने भन्दैनौं । तर पानी खाइदैन पिइन्छ । हामीले हाम्रा अग्रजले भनेको मान्यौं । यसले विचार समप्रेषण त भयो तर भाषा वा बोली शुद्ध वा स्तरीय भएन । हामी हाम्रा अग्रज भन्दा शिक्षा, प्रविधि, सञ्चार जस्ता विषय सामाग्रीबाट अपडेट र अगाडि पनि छौं । ज्ञान र चेतनाका दृष्टिले अव्बल र उर्वर पनि छौं । अग्रजहरुले भाषिक व्यवहारमा चलाएको भाषा हामी सचेत भएको नाताले कमि कमजोरी छ भने परिष्कार गर्दै स्तरीय बनाउने जिम्मा पनि हाम्रै होइन र ?
हामी भात पकाउने भन्छौं । भात पकाउँदा त खोले पो बन्छ त ! भात पकाउने होइन बरु चामल पकाउने हो तर शुद्धरुप चामल पकाउने भन्न चाहिं अप्ठेरो लाग्छ । भाषा प्रयोगको हरेक पहिलो रुप नयाँ नै रहन्छ र हामीलाई अनौठो नै लाग्न सक्छ तर यथार्थ भने त्यही नै हो । हामीले वास्तविक रुपलाई भाषिक व्यवहारमा ल्याउने हो अनि यो काम कसले गरिदेला त ?
खाने र पिउने विषयलाई हामी यहाँ साझा रुपमा उल्लेख गर्न सक्छौं । सबै तरल पदार्थ पिउने र सबै ठोस पदार्थ टोक्ने, चपाउने, खाने । पानी, चिया वा रसजन्य पदार्थहरु पिइने भएकाले खाने वर्गमा परेनन् । ठोस पदार्थहरु टोकेर वा चपाएर उपयोग गरिने भएकाले पिइने वर्गमा परेनन् । यस प्रकृतिका ठोस चिजहरु टोकिने वा चपाइने भएकाले खाने वा खाइने वर्गमा पर्न गए ।
बोलीचालीमा यस्ता यथेष्ट र जीवन्त अरु पनि दृष्टान्तहरु भेटिन्छन् । हामी प्रशस्त त्यस्ता ठाउँहरुमा चुकिरहेका सयौं उदाहरण होलान् ।

केही हेरौं ।

हामी खास भाँडो विशेषलाई बाल्टिन भन्छौं तर त्यो बाल्टिन होइन हाल्टिन हो किनकि त्यसमा केही चिज हालिन्छ वा राखिन्छ । अनि एक विशेष प्रकृतिको साधनलाई लालटिन भन्ने गरिएको छ तर त्यो लालटिन नभएर बाल्टिन हो किनकि त्यो बालिन्छ । त्यस्तै गरी आगो बाल्ने भन्छौं । आगो बाल्ने होइन दाउरा चाहिँ बाल्ने हो । तेल पेल्ने भन्छौं । तेल पेल्ने कि केही चिज पेलेर तेल निकाल्ने हो ? तेल पेल्ने होइन कि तोरी वा तिल पेलेर तेल निकाल्ने हो । हाम्रा भनाई र गराईमा बेमेल हुने यस्ता यथेष्ट प्रयोगहरु छन् । लापर्वाही गरेर जान्दा जान्दै पनि हामी निर्वाध रुपमा गलत भाषिक प्रयोग गरिरहेका छौं । हाम्रा अग्रजहरुले पढेलेखेका थिएनन् होला । उनीहरुले विचार सम्प्रेषण गरे । हामीले त्यसको मर्मबोध गर्नपर्ने होइन र ?

लेखक डा. अधिकारी शिक्षाविदहुनुहुन्छ ।