शान्त मानव

श्रुति नेपाल

शान्तिको अभावमा छट्पटाएको मानव समुदाय
आज मुर्दा शान्तिबाट आत्तिएको छ ।
शान्तिको खोजीमा रिसोर्ट र नेचर धाउने मानिस
आज आफैले बनाएको घरभित्र खाँदिएको छ ।
खै कुन शक्तिले अड्याएको छ मानिसलाई आज
सास फेर्न पनि समय छुट्याउने मानिस
आज चार दिवारभित्र एक्लै रत्तिएको छ ।
के को त्रासमा खै यो निडर जन्तु
आफ्ना र आफ्नै भन्ने संग आत्तिएको छ ।
म, मेरो र मेरा भन्ने मानिस आज
आफ्नै हात संग डराउँदै छ ।
सधैं हतार र लछार पछारमा रमाउने मानिस
एक्लै बस्न सबैलाई कराउँदैछ ।
डुङ्ग डुङ्ग गन्हाएर पनि पानीसंग डराउने मानिस
दिनभरी साबुन पानी संग रमाउँदैछ ।
खै के शक्ति लिएर आयो यो भाइरस
संसारलाई उल्टो बनाउँदैछ ।
पूजा पाठ गर्ने मन्दिर बन्द गराएर
स्व पाठमा मानवलाई लगाउँदैछ ।
मानिसलाई सायद आफू बिर्से भनेर होला
भाइरस आज आफैलाई चिनाउदैछ ।