कोरोना कहर

डा.गणेशराज अधिकारी

दासप्रथाको उन्मूलन चन्द्रसमशेरले वि.सं. १९८० को दशकमा गरेका हुन् । कागजी रुपमा त्यतिबेलै यो घोषणा गरिएको भएपनि यसको अवशेष अझै कतिपय अवस्थामा भेटिन्छ । पश्चिमाहरुले भने सन् १९३३ मा दासप्रथाको उन्मूलनको घोषणा गरेका थिए । अहिले हाम्रो अवस्था जहाँ छ हामी आज पनि हाम्रा व्यावहार, संस्कार, चेतना, चिन्तन र दृष्टिकोणका हिसाबले सायद् अझै दासप्रथाबाट उम्कन सकेका छैनौं जस्तो अनुभूति हुन्छ ।
परिस्थ्तििले भनौं हामी सम्पन्न विकसित अमेरिका इटलीजस्ता देशहरुतिर लाग्यौं । कति हामी जिजीविषाकै कारणले त कति अरु भिन्न कारणले पनि प्रवासियौं । हामीलाई खाना, नाना र छानाको आवश्यक्ता एकातिर थियो त अर्कातिर दिनभन्दा रातमा बढेको स्वप्निल भोतिक सुविधाको लोभ थियो । प्रवासिनका कारण र अन्तर्य अनेक होलान् । अहिलेको हाम्रो अवस्था भने कारुणिक छ । हामी स्वदेश तथा विदेश दुवैतिर अनागरिक भएका छौँ ।
हाम्रो राज्य व्यवस्थामा देखिएका विसङ्गति र विकृतिले हामी धेरैजसो यहीं दास भएका छौं । कतिपय प्रवासिएर दास भएका छन् । राज्यको कमजोर सङ्क्रमणकालीन अवस्था यसको कारक रहन गएकोले आफ्ना तिहित स्वार्थ हासिल गर्नु ती सव् तत्वहरु सक्रिय भए । यसले राज्यका सबै अङ्ग क्षतविक्षत् बनायो । कोही पनि सफल हुन नसक्ने प्राकृतिक अवस्था सिर्जना भयो । त्यस क्रममा हामीहरु नै पनि कतिपय सवालमा असफल भयौं । गलत कार्यलाई प्रोत्साहित नगरे पनि हतोत्साहित गरेनौं ।
जिम्मेवारीको कुर्सीमा बस्नेहरुले पदीय मर्यादा ननिभाउनु यसको अर्को कारक रहन गयो । यी अनेक रुपबाट हामी जति र जसरी प्रताडित छौं सायद् अहिले हामी कोरोनाको सन्त्रासबाट त्यति नै प्रताडित छौं । यस महामारीको सङ्क्रमणको सन्त्रास, ताप र रापले जलिरहेका छौं । यो बडो विचित्रको सङ्कट र महामारीका चपेटामा परेर हामी त्राही त्राही भइरहेका छौं । वास्तवमै यो सङ्कट अहिलेको सवालमा विकराल समस्या हो ।
कोरोना भाइरसको प्रभावको सर्वेक्षणले के देखाइरहेको छ भने हाम्रो देश जस्तो तेस्रो विश्वको राष्ट्रमा यो रोग लाग्नु अभिशाप हो । अमेरिका ,बेलायत, इटाली, फ्रान्स जस्ता अति विकसित देशहरुले स्वास्थ्यमा त्यति धेरै उपलब्ध सेवाहरु उपलब्ध गराउँदा गराउँदै पनि मान्छेहरुका लास बग्रेल्ती छन् । नेपालजस्तो देशमा यस्तो सङ्क्रमण फैलियो भने के हविगत होला ? यस किसिमको कल्पना नगरौं । यहाँ प्रविधियुक्त जनशक्ति भएपनि प्रविधि र यन्त्र उपकरण तथा मेसिनरी औजारहरुको अभाव छ । यस किसिमको अवस्थामा हाम्रो स्थिति के होला ? सहजै अड्कल काट्न सकिन्छ हाम्रो दुरावस्थाको !
हामी नेपालीहरु अहिले महामारीको डरले आतङ्कित भएका छौं । रोकथामका लागि सरकारले चैत्र ११ गतेबाट लकडाउनको नीति अवलम्वन गरेको छ । आधारभूत काम त भएको छ तर यसका पूरक पक्षहरु भने क्रियाहिन भएका छन् । स्थानीय तहहरुको गतिविधि अधिकांश ठाउँमा सशक्त बन्न सकेको देखिएन । नागरिकहरुका लागि आवश्यक दैनिक उपभोग्य चिजविजहरु उपलब्ध गराउने संयन्त्र धेरै ठाउँमा फितलो देखियो । व्यवसायीहरुले पनि अधिकांश ठाउँमा मानवीय भाव देखाउन नसकेको हो की भन्ने दृश्य पनि कतै देखिन खोजेको स्थिति रहेको त होइन भन्ने आशंका उत्पन्न भएको छ । ।
विदेशबाट आयात गर्नुपर्ने स्वास्थ्य सामाग्रीमा भएको अमानवीय चलखेलको कतै हामी शिकार त भएका छैनौं ? हाम्रा अगाडि जटिल प्रश्न खडा भएको छ । सङ्कटको पराकाष्टा भोगिरहेका नागरिकहरको ज्यानमाथि खेलबाड गर्ने राज्यका दुश्मनहरु एकातिर सल्बलाइरहेका छन् भने अर्कातिर सरकार नै स्पष्ट दृष्टिकोण बनाएर मोर्चामा उभिन सकेको छैन झैं लाग्न थालेको छ । कोरोनाको महामारीबाट बच्न सुरक्षाका उपाय र समाधानका मार्गको सजीव खाका कोरेर देखाई नागरिकलाई आश्वस्त पार्न सकेको देखिदैन ।
विषम परिस्थितिमा राज्य लडखडाई रहेको बेलामा सरकार सञ्चालन गर्ने संयन्त्रमा बसेकाहरुमा एकमना सोच हुन जरुरी छ । स्थानीय सरकारहरुले पनि यस विषम क्षणमा जवाफदेही भएर कार्य सम्पादन गर्नपर्ने छ । राहतमा अपचलन गर्ने परिकल्पना किमार्थ हुन हुदैन । राहत वितरणमा पनि मानवता प्रदर्शन गर्ने हो विज्ञापन होइन । अफवाह निस्तेज गर्दै कोरोनाको सङ्क्रमण निष्प्रभावी बनाउने रणनीति अवलम्वन गर्न चुक्नु हुदैन भन्ने यथार्थबाट सरकार र तिनका सरोकारवाला निकाय सचेत भएमा अवश्यमेव देशले कोरोनाको कहरबाट मुक्ति पाउने छ ।
लेखक डा. अधिकारी शिक्षाविद् हुनुहुन्छ ।