विरसिका–भाग १ (अङ्क १)

डा.गणेशराज अधिकारी
वैशाख २ काठमाडौं ।
पूूर्वकालमा हेमकुट पर्वतका निकटमा कञ्चनपुर नामको राज्य थियो । त्यस देशमा वीरवाहु राजाका छोरा विक्रमध्वज राजा थिए । त्यस शहरमा रत्नदत्त नाम गरेको बनियाँ पनि बस्थ्यो । उक्त राज्यमा बन्धर बनियाँ मन्त्री थियो । प्रभावती तिनकी स्त्री थिइन् । तिनको छोरा विरसिका थियो ।
मन्त्री बन्धर बनियाँले एक लाख हालेर किनेको एउटा सुगा थियो । भागराज त्यसको नाम थियो । एक दिन मन्त्री र प्रभावती दुवै बैठकमा गएर भागराजलाई भन्छन् “ हे पंक्षीका मन्त्री भागराज शुक ! विरसिका छोरो हाम्रो भन्नुमात्र हो, यो तिम्रै छोरो समान हो । यसलाई ज्ञान, वुद्धि, चातुर्य सकल शास्त्र विद्या पढाऊ “यति भनी मन्त्री तथा पत्नी प्रभावतीले भागराज शुकलाई आफ्नो छोरो जिम्मा लगाए ।
सुगा भन्दछ, हे बाबाज्यू मन्त्रीवर ! तपाइँहरुले मलाई किन ढोग दिनुभयो ? म त तपाईहरुको सेवक हुँ । मैले तपाईहरुलाई सम्मान गर्नुपर्छ । यी विरसिकाको केही सन्देह मान्न पर्दैन । यिनलाई ज्यावन्त विद्या शास्त्रमा पूर्ण गराउँला । यस पृथ्वीमा मन्त्रीको चुडामणि सर्रदार बनाउँला । यति भनेर भागराज विरसिकाका कुममा बस्न गयो ।
बाबा आमासंग विदा भएर विरसिका पनि भागराजसंग दिनरात संगसंगै यात्रामा निस्कियो । यी गुरुचेला अनेक विद्या शास्त्रमा बहस गर्दै अगाडि बढ्न लागे । यसै क्रममा बन्धर बनियाँलाई अनेक शास्त्र सिकाएर मैले मन्त्रीसम्म बन्ने बनाएँ । यस विचमा लामो समय म आफन्तबाट बिछोडिएको छु । अब यही मौकामा विरसिकालाई लिएर उसले यात्रामा निस्कने सोच बनायो ।
भागराज विरसिकालाई भन्छ , हे विरसिका ! अब यात्रामा निस्कौं । घरमा बसेर ज्ञानको परिक्षण हुदैन । मन बहलाउन र ज्ञानको परिक्षण गर्न नयाँनयाँ ठाउँमा जानुपर्छ । अब हामी पनि सयल गर्न विन्द्रावन जाऔं ।

विरसिका भन्छ, हे गुरुवर ! बाबा आमासंग विदा माग्ने हो कि ? यसपछि यी दुवै बन्धर प्रभावती भएका ठाउँमा गएर विदा माग्छन् । मन्त्री र उनकी पत्नी पनि कुनै शोक नगरी शास्त्रार्थ गर्नका लागि विदा दिन्छन् । अब तिमीले गुरुले भनेअनुसार मान्ने हो । हामी केही होइन । भागराजकै आज्ञा शिरोपर गरेस् । यति भनेर विदा दिएपछि भागराज र विरसिका विन्द्रावन लाग्छन् ।
भागराजले देखाएको बाटो हुँदै यी अगाडि बढे । आवश्यक सामग्रीको जोहो मन्त्रीले गरिदिएकै थिए । यसरी अगाडि बढ्दै गर्दा विरसिका र भागराज छक्क पर्छन् । बडेबडे वृक्षका हाँगा जमिनमा जोतिएका छन् । वर, पिपल र डुम्रीका वृक्ष वनमा यत्रतत्र देखिन्छन् । खरी र सतिसालका वृक्ष दर्शन नै गरौंला झैं गरी खडा भएका छन् । सिसौ, अगा्रख, साल आदि वृक्ष र वनस्पतिहरुको राज्यमा हामी स्वागतका लागि निम्त्याइएका छौं जस्तो परिवेश छ । वातावरण सुरम्य र रोचक छ ।
अनेक जातिका फल लटरम्म छन् । सुन्तला, अमला, ज्यामिर, विमिरा, निभुवा, दारिम, आँप, अम्बा, कटहर आदि लटरम्म छन् । चुत्रो, जामुन, जेठीमधु वयर, केरा, ऐंसेलु, भोकटे, काठे ज्यामिर, काँक्रा, खरवुजा, नास्पाति, स्याउ, पेस्ता, नरिवल, सुपारी, ल्वाङ्, अलैंची जस्ता नाना तरहका फलहरुले शोभित छ । फूलमा पनि तरहतरहका अनेकौं प्रजातिका छन् । मानौं कोही सिपवाल कालीगढले मिहिनेत गरेर बनाएका अनुपम उपहार । यस्तै लोभ लाग्दो मनमोहक परिवेश छ ।
जङ्लमा लहरा विचित्रका चित्र बताउने गरी जेलिएका छन् । यो दृश्य देख्दा अनौठो लाग्ने किसिमको छ । वन्य जनावर, पंक्षीहरुको विशाल प्राकृतिक सङ्ग्राहलय झैं लाग्छ । यहाँ के छैन ? के पाइदैन ? के भेटिदैन ? पृथ्वी यहीं छ । स्वर्ग यहीं छ ।
तलाउको मनोरम दृश्य छ । पोखरी छन् । नदीको कलकल बहाव छ । डरलाग्दा भिर र पाखा छन् । सम्म सत्वाँझका फाँट अनि साइबेरियाका मैदानझैं । संसार यहीं छ । भोक छैन । भागराज र विरसिका तरह तरहका विषयका बहसमा छन् । जङ्गलको विचमा चौतारो बनाइएको शैलीमा ढुङ्गाको विशाल आकृति छ । भागराज यसलाई विरसिकालाई देखाउँदै यही हे मैले भनेको वुद्धिसिला !
क्रमश……..
(लेखक डा. अधिकारी शिक्षाविद् एवम् साहित्यकार
हुनुहुन्छ) ।