कागेश्वरी र कोरोना कहर

लक्ष्मी कोइराला
७ वैशाख २०७७ ।
वर्तमान हाम्रो अवस्था निकै संवेदनशील छ । विश्वका अति विकसित र सम्पन्न देशहरुमा समेत कोरोना भाइरसले आफ्नो असली प्रभाव देखाएपछि शस्त्रार्थमा सम्पन्न राष्ट्रहरु पनि प्रभावका दृष्टिले सङ्कटमा परेका छन् । यस्तो संवेदनशील अवस्थामा हामी हाम्रो देश र आफ्नो नगरमा सुरक्षित रहन यथेष्ट चुनौतिको सामना गर्न क्रियाशील भएर लागेका छौं।
कागेश्वरी मनोहरा नगरपालिकाले आफ्नो नगरमा स्वास्थ्य अवस्था सुदृढ बनाउन विभिन्न महत्त्वपूर्ण काम गरेको छ । नगर प्रमुख कृष्णहरि थापा स्वास्थ्यको यस जटिल अवस्थामा स्वयम् क्रियाशील भएर हामीलाई हौसला दिन सक्रिय हुनुभएको छ । नगरका प्रशासन, लेखा आदि शाखाको पनि त्यतिकै सहयोगी भूमिका रहेको छ । स्वास्थ्य शाखाको प्रमुख अगुवाईमा यस नगरपालिकाले जनसरोकारका धेरै कामहरु गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण हुन नदिन र भएपछि पनि त्यसबाट बच्न सरोकारवालाहरु महिला स्वास्थ्य स्वयम् सेविका, आमा समूह, विद्यालय र सङ्घ संस्थाहरुको सहभागिता गराई जनचेतनामुलक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । यो कार्यक्रम स्वास्थ्य शाखाको समन्वयमा नगर स्वास्थ्य समितिले निर्णय गरेपछि गत २०७६ को फागुन ६ गते गरिएको थियो । यसले जनचेतना फैलाउने काम गरेको छ । वडावडामा महिला स्वास्थ्य स्वयम् सेविकाहरुले स्वास्थ्य शाखाको निर्देशनमा फागुन महिनाभर काम गरी सहयोग पुर्याएका थिए ।
कोरोना भाइरस सङ्क्रमणका विषयमा काठमाडौंमा जिल्लाभरिका सबै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुको उपस्थितिमा काठमाडौं जिल्लाले फागुन १८ गते नै विशेष कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रमको खाकाभित्र रहेर फागुन १९ देखि नगरपालिकाका विद्यालयहरुमा गएर सचेत गराउने कार्य गरिएको थियो । यसका लागि स्वस्थ्य शाखाले स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी परिचालन गरेर कोरोनाको कहरबाट सुरक्षित रहन सन्देश प्रवाहित गराउने काम गरेको थियो । २०७६ सालकै चैत्र २ गते नगरपालिकाको विशेष पहलमा बैठकको निर्णय र निर्देशिका अनुसार द्रुत गतिमा कोरोना प्रतिकार टोलीको पुनर्गठन गरी काममा तिब्रता ल्याउने प्रक्रिया अवलम्बन गरिएको थियो । सोही दिन देखि नगरकार्यपालिकाको कार्यालय थलीमा कार्यपालिकाको निर्णय र निर्देशिका बमोजिम हेल्थ डेक्स राखिएको छ ।

कोरोनाको सङ्क्रमणबाट जोगिन नगरकार्यपालिकाले खरिद प्रक्रिया अगाडि बढाई माक्स र ग्लोब्स वितरण गर्ने कार्य गरेको छ । चैत्र १४ गते आरम्भ गरिएको यो कार्य प्रत्येक वडाहरुमा सरसफाईमा कार्यरत संस्थालाई लक्षित गरेर सम्पन्न गरियो । यही महिनामा नै नगरपालिकाले सबै वडाहरुमा कोभिड १९ रोकथाम तथा नियन्त्रण कोष खडा गर्ने काम गर्यो । यसरी खडा भएको कोषमा नगरपालिकाले प्रारम्भमा २५ लाख छुट्याउने भने पनि पछि थपेर ५० लाख बनाएको छ । वडागत रुपमा सबै वढाहरुमा कोष खडा गरी जनसङ्ख्या र सहभागिताका आधारमा वितरणको व्यवस्था मिलाइएको छ । यस अघि नै फागुन महिनाको १८ गतेबाटै प्राथमिक स्वास्थ्य केन्द्र मूलपानी नगर अस्पताललाई केन्द्र बनाएर ६ बेडको क्वारेन्टाइन र ज्वरो क्लिनिक सञ्चालनको काम भइसकेको छ । नगर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई खाने बस्नेको सुविधा सहितको व्यवस्था गरिसकिएको छ । नगर अस्पतालले जिम्मेवारी लिने गरी यो काम आरम्भ भएको छ ।
कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै मूलपानीस्थित नगर अस्पतालले बैठकको निर्णय र कार्य तथा नीति निर्देशिका बमोजिम मूलपानी प्राथमिक स्वास्थ्य केन्द्र नगर अस्पतालमा आइसोलेसन बेड रहने गरी चैत्र ७ गते नै निर्णय भएर काम आरम्भ भइसकेको छ । चैत्र १० गते नगरपालिकाले निर्देशिका र सरोकारवालासंगको समन्वयमा बैठक बसेर कोभिड १९ नियन्त्रणका लागि प्रक्रियागत रुपमा निरन्तर काम गर्दै आएको छ । यसले नगर स्तरीय समन्वय समिति गठन गरेर बैठकबाट कार्यक्रम बनाई महामारी फैलन नदिन सचेतता र सतर्कता अपनाउने निर्णय गरेको छ ।
नगरपालिका क्षेत्रभित्रका प्रमुख स्थानमा नगर प्रमुख कृष्णहरि थापाको पहलमा चैत्र १६ गतेबाट सबै वडाहरुमा क्लोरिन झोल छर्कने काम भइसकेको छ । सबै वडासंग समन्वय गरेर यो काम गरिएको हो । यस अगावै चैत्र १४ मा नै नगरपालिकाले नगरका सबै वडामा रहेका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीई पिपिई सेटको व्यवस्था गरिसकेको छ । नगरपालिकाको पहलमा सबै वडाहरुमा परिपत्र गरेर कारोना नियन्त्रणका लागि वडा स्तरीय समन्वय समितिको गठन गरेर बैठकका माध्यमबाट नियन्त्रणका उपायहरु अवलम्वन गर्दै आएको छ । त्यस्तैगरी आलापोट स्वास्थ्य चौकीको जिम्मेवारीमा रहने गरी चैत्र ११ गते नै ७ बेडसहितको क्वारेन्टाइनको व्यवस्था पनि निर्देशिका बमोजिम गरिएको छ ।
नगरपालिकाले स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै चैत्र ११ गते नै नगरपालिकाका सबै वडामा रहेका स्वास्थ्य संस्थालाई स्वास्थ्य सहयोग डेक्सका लागि रु. एक लाखका दरले उपलब्ध गराई सकेको छ । यो काम पनि नगरपालिकाले निर्देशिका बमोजिम नै स्वास्थ्य शाखा मार्फत गरेको हो । नगरकार्यपालिकाको कार्यालयले निर्देशिका बमोजिम खरिद प्रक्रिया अवलम्वन गरी नगर अस्पताल मूूलपानीमा सञ्चालन गरिने ज्वरो क्लिनिकका लागि औषधी तथा उपकरण खरिद गरेर उपलब्ध गराई सकिएको छ ।

कोरोनाको प्रभावको जटिलतालाई मध्यनजर गरी नगरपालिकाले निर्देशिका बमोजिम गागल स्वास्थ्य चौकी, डाँछी स्वास्थ्य चौकी र गोठाटार स्वास्थ्य चौकीका लागि थप गरी १५ बेडको क्वारेन्टाइनको व्यवस्था गरेको छ । माक्स वितरण सबै वडामा भएको छ भने विदेशबाट आएका नागरिकको स्याव परिक्षणको कामसमेत भएको छ । यस अन्तर्गत मुलपानी प्राथमिक स्वास्थ्य केन्द्र नगर अस्पतालमा आर डि टी जाँच ३६ जनाको भएकोमा एकै परिवारका ३ जनामा पोजेटिभ र अरु सबैमा नेगेटिभ पाइएको छ ।
यस नगरपालिकाको वडा नं. १, २, ३ र ४ मा विदेशबाट आउनेहरु १८ जनाको आरडिटी परिक्षण गर्दा सबैको नेगेटिभ नतिजा आयो । वडा ५ र ६ का ३२ जनाको डाँछीमा गरिएको परिक्षणमा पनि सबैको नेगेटिभ नतिजा आएको छ । मुलपानीमा आर डि टी टेष्ट गरिएका व्यक्तिहरु सनसिटी हाउजिङमा बस्दै आउनु भएकाले सो क्षेत्रमा वसोवास गर्ने आसपासका ए ब्लकका ३ सय जनाको टेष्टमा ३ जनाको पोजेटिभ पाइएको थियो । निरन्तर कार्य गरिरहँदा यी तथ्यहरु बाहिर आएका छन् । नगरपालिका स्वास्थ्य शाखा अहोरात्र खटेर कार्य गरिरहेको छ ।
राष्ट्रसेवक स्वास्थ्यकर्मीहरुले यस विषम परिस्थितिमा सेवा गर्ने अवसर पाएकोमा अहोभाग्य सम्झनु पर्दछ । यस्ता चुनौतिको सामना गर्न सधैं अवसर नआउन सक्छ । यो शोकको क्षणलाई शक्तिमा बदलेर राष्ट्रिय समस्या समाधानका खातिर मन, वचन र कर्मले लाग्नु अहिलेका लागि समयको माग र वर्तमानको आवश्यक्ता पनि हो । खान, पान र बासमा जटिलता हुन सक्छ । समस्या आउन सक्छन् । सच्चा स्वास्थ्यकर्मीको परिचय भनेकै अभावमा पनि लडेर जोखिममा परेकाहरुलाई सहयोग गर्न उच्च मनोबलका साथ कर्तव्य पालना गर्ने मुल अभिभारा हुन आउँछ ।
लेखक कोइराला कागेश्वरी मनोहरा नगरपालिकामा स्वास्थ्य सह संयोजकका रुपमा कार्यरत हुनुहुन्छ ।