टोखा नगरपालिकाद्धारा कोभिड १९ बाट प्रभावित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण

३० असार २०७७ ।
टोखा नगरपालिकाले कोभिड १९ बाट प्रभावित भएका विद्यार्थीहरुलाई आज शैक्षिक सामाग्री बितरण गरेको छ ।
टोखा नगरपालिकाले आज टोखामा आयोजना गरेको कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले कोभिड १९ बाट प्रभावित भएका दलित, सिमान्तकृत, अल्पसंख्यक र लोपउन्मुख बर्ग र समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्नुभएको थियो ।  
कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोल, नगर प्रवक्ता बच्चु बस्याल, वडा अध्यक्षहरु जोग प्रसाद नेपाल र श्रीकृष्ण अधिकारी तथा नगर कार्यपालिका सदस्य उर्मिला विश्वक्रर्मा, वडा सदस्य रामभक्त घिमिरे लगायत जनप्रतिनिधिहरुले १ सय ६० जना जति विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्नुभएको टोखा नगरपालिकाले जनाएको छ ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जातिय विभेद संविधानले अन्त्य गरिसकेको बताउदै हामी सबै मानव भएकोले जातिय विभेद नगरी मानवताको रक्षाका लागि सबैले कार्य गर्नुपर्ने बताउनुभएको थियो ।
टोखा नगरपालिकाले सबै जातजाति र भाषाभाषीको उत्थानका लागि कार्य गरिरहेको बताउदै नगर प्रमुख अधिकारीले नगरको समग्र विकास र समृद्धिका लागि नगरपालिकाले सक्दो पहल गरिरहेको बताउनुभएको थियो ।
नगर प्रमुख प्रकाश अधिकारीले नगरबासीको माग र चाहना बमोजिम नगरपालिकाले कार्य गरिरहेको बताउदै नगरको विकास र समृद्धिका लागि आगामी दिनमा नगरपालिका अझ बढि सक्रिय भएर लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो । विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि नगरपालिका अहोरात्र क्रियाशिल रहेको बताउदै नगर प्रमुख प्रकाश अधिकारीले आगामी बर्षको नीति तथा कार्यक्रममा कोभिड १९ को रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।
नगर प्रमुख प्रकाश अधिकारीले स्वास्थ्य, शिक्षा, पूर्बाधार विकास, सामाजिक विकास, आर्थिक विकास, खानेपानी सरसफाई, वातावरण, विपद् व्यवस्थापन, पर्यटन, कृषि, सेवा प्रवाह, सम्पदा तथा संस्कृति संरक्षण लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको पनि बताउनुभएको थियो ।

कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले नगरपालिका महिला, बालबालिका, जेष्ठ नागरिक लगायतका क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउदै कोभिड १९ बाट प्रभावित भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्न पाउदा खुशि लागेको बताउनुभएको थियो ।
उपप्रमुख ज्ञानमाया डंगोलले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका साथै सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रबद्र्धन, साँस्कृतिक सम्पदाहरुको संरक्षण लगायतका क्षेत्रलाई पनि नगरपालिकाले प्राथमिकता दिएको बताउनुभएको थियो ।
कार्यक्रममा टोखा नगरपालिकाका प्रवक्ता बच्चु बस्याल, वडा अध्यक्ष जोग प्रसाद नेपाल र नगर कार्यपालिका सदस्य उर्मिला विश्वक्रर्माले नगरपालिका शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउन लागिपरेको बताउदै विद्यार्थीहरुलाई अध्यन गर्न सहज होस् भनेर शैक्षिक सामाग्री बितरण गरिएको बताउनुभएको थियो ।
कार्यक्रममा टोखा नगरपालिकाका जनप्रतिनिधिहरु, विद्यार्थीहरु, अविभावकहरु लगायतको सहभागिता रहेको थियो ।