ज्ञान र चाणक्य सूत्र

१ साउन २०७७ ।
डा.गणेशराज अधिकारी ।
मानिस ज्ञानवान प्राणी हो । ऊ ज्ञानका हिसाबले सृष्टिकै उच्च दर्जामा पदासिन छ । यो घामजत्तिकै छर्लङ्ग छ । हामी कति ज्ञानवान छौँ त्यो समाजले पहिचान गर्ने विषय हो । स्वयम्ले आफैँलाई ज्ञानी भन्न कत्तिको मिल्ने विषय हो ? ऊ ज्ञानी हो वा छ भने कसैको साधारण दोषका जगमा उसको सम्पूर्ण बाँकी अस्तित्वलाई दोषी ठान्दैन ।
दविन्छ गुणीको दोष
गुणका रासमा परी,
रश्मिले चन्द्रको दाग
दबाएकै छ बेस्सरी ।
नैतिक दृष्टान्तमा लेखनाथले यो वाणी त्यतिकै त्यसै संयोगले लेखेका होइनन् । चाणक्य त झन् लेखनाथभन्दा २३०० वर्ष अगाडिकै भए । दोष देखाउन सबभन्दा सजिलो छ । मर्यादा मान्छेको त्यो गुण हो, जसले मानिसलाई मानव बनाउँछ । अज्ञानको अन्धकारबाट हटाउँछ । ज्ञानको प्रकाशले आलोकित गराउँछ । सामाजिक नियम, विधि, विधान, पद्धति स्थापित गराउँछ । मर्यादा उल्लङ्घन गर्ने व्यक्तिको विश्वाससमेत हुदैन । ऊ मानवको दर्जाबाट स्खलित भएको हुन्छ ।
सङ्घले पनि जाँदैन
दुष्टको दुष्टता रिस,
श्रीखण्डमा बसी सर्प
हुन्छ कहाँ निर्विष ?
लेखनाथकै यो अर्को विचार त्यतिकै मननीय छ । चाणक्य भने निर्गुण व्यक्ति पनि गुणी बन्छ भन्छन् । कलाकार गणेशलाल जस्तोसुकै साधन भएपनि मान्छेका हात परेपछि त्यसले आकार पाउँछ भन्थे । हामीले त कतै माल पाएर चाल नपाएको पो हो कि ? मौका अवसरले हामीलाई चिनाउने हो भनेर चाणक्यले त्यति अगाडि बताएका सूत्रहरु आज पनि त्यतिकै सान्दर्भिक छन् ।
उत्साहले हामीमा सही मार्ग देखाउनुपर्छ । यदाकदा मान्छेमा उत्साहले नकारात्मक र निषेधात्मक काम गर्न प्रेरित गरिरहेको हुन सक्छ । मान्छेहरु विधि विधान मिच्ने, मर्यादा उल्लङ्घन गर्ने, अहम् र दम्भ प्रदर्शन गर्ने, हठ गरी थिति भत्काउने दुस्प्रयास पनि गर्न सक्छन् । यसो गर्नु भनेको चाहिँ आफूले अगाडि गर्दै आएको चरित्रको सक्कली रुप देखाउनु हो । यो उसको मनोपोली ( एकाधिकारवादी सोच ) को प्रतिच्छायाँ हो । गलत कामको पक्षपोषण, हुलदङ्गा, पदीय गरिमाको दुरुपयोग, वदनियतपूर्ण हठको पराकाष्ठा यसका दृष्टान्त हुन् ।
यदाकदा यस किसिमका दुव्र्यवहार शिक्षा, स्वास्थ्य जस्ता अति संवेदनशील क्षेत्रहरुमा पनि देखिन्छन् । स्थानीय सरकारले त्यस्ता बहुलठ्ठी चरित्रहरुलाई निस्तेज गर्नुपर्दछ । सङ्कटबाटै लक्ष्य प्राप्त हुन्छ भन्ने कुरा मोदनाथ प्रश्रितकृत यो पङ्क्तिले स्पष्ट गर्छ ः
लक्ष्यमा ठुलो पुग्नुछ भने अधीर नहोऊ
आपत् पर्छ जङ्घार तर्दा आपत्मा नरोऊ
अविश्वासी मानिस किमार्थ विश्वासी हुन सक्दैन भन्ने अर्थ बुझाउन विष सधैँ विष नै रहन्छ भनेर चाणक्यले बताएका छन् । हाम्रो सन्दर्भमा चाहिँ व्यवहारले अमृत पनि विष र विष पनि अमृत हुन सक्छ । यदि यसलाई परिचालन गर्न जान्यो भने विषले अमृतको काम गर्छ भने जानेन भने अमृत पनि विष बन्छ । यस्तैगरी उद्देश्यका आधारमा मित्रता कायम गर्नु श्रेयस्कर रहने कुरा चाणक्य बताउँछन् । मित्र महामुनि दुर्लभ माना भनेर त्यसै कहाँ ऋषिमुनिहरुले भनेका हुन् र ? सदाचार हाम्रो विजयको कसी हो । यही कारण हाम्रो विजय हुन्छ । त्यसमा हाम्रो कर्तव्य प्रमुख रहन्छ । कर्तव्य कार्यको निरन्तरता पनि हो ।
रछ्यान चलाइ मुखमा छिटा भन्ने कुरा अभ्यास, अनुभव र व्यवहारले सिद्ध भएको विषय हो । मूर्खलाई सज्जनको भाषाले काम गर्दैन । लातका भुत बातसे नही मान्ते त्यसै कहाँ भनिएको हो र ? जस्तो छ त्यस्तै व्यवहार गर्नुपर्छ । जस्तालाई त्यस्तै ढिढालाई निस्तै भन्ने उखान त्यसै कहाँ सार्थक भएको हो ? मृत्युभन्दा ठुलो डर मर्यादा र अनुशासन हो । दुधले पोसे पनि सर्पबाट कदापि अमृत उत्पादन हुदैन । मानिस आफू जस्तो छ अरुलाई त्यस्तै देख्छ । यो उसको प्रवृत्ति हो । ऊ आफ्नो स्वाभाव बदल्न गाह्रो मान्छ । नानीदेखि लागेको बानी कसरी छुटोस् ? भनिन्छ नि ऊ आफू चोर छ भने अरुलाई पनि चोरै देख्छ रे !
उम्किएको ठुलो माछो भन्दा आफ्नो कब्जामा भएको सानै माछो नै हाम्रा लागि उपलब्धि हो । त्यही नै हाम्रो काममा आउँछ । महिलाको आभूषण सज्जा भएझैँ ब्रम्हज्ञान ब्राह्मणको आभूषण हो । उपद्रो मच्चिएको घर मसान घाट हो । जुन घरमा सत्य, नियम र सज्जनको अनुशरण हुन्छ त्यो घर नै वास्तवमा देश हो । त्यसले समाज र राज्यको सेतुको काम गर्दछ । राज्यलाई बचाउन उपयोग हुने अन्नबाली नै जीवन हो । त्यहाँ जीवनको रहस्य छ । जीवनको परिभाषा छ । जीवनको गुण छ । जीवनको अस्तित्व छ ।
हाम्रा व्यवहार र जीवनमा चलेका अनेक विषयहरु ज्ञानका रहस्यसँग जोडिन्छन् । चाणक्यले सङ्केत गरेका केही रहस्यहरुलाई यसरी बुँदामा उल्लेख गर्न सकिन्छ ः
१) मान्छे आफ्नै कर्मले पुजिने हो
२) सबै बस्तुमा सबै गुण र सबै बैगुण हुदैन
३) गुणको बदला अबगुणले तिर्ने होइन
४) सामाजिक विचार नै आफ्नो स्वार्थ हुनुपर्छ
५) विद्याको महत्व अतुलनीय छ
६) भोक मिठो कि भोजन महाराज ?
७) कदअनुसारको जिम्मेवारी हुनुपर्छ
८) हरेकले आफ्नो औकात अनुसार अगाडि बढ्ने हो
९) कसैको पनि उपेक्षा गर्नुहुदैन
१०) कुरा सबैको सुन्ने अनि सही निर्णय गर्ने
११) आगो, पानी, राजा र साहुबाट सचेत रहने
१२) लोभले हुने लाभलाई तिलाञ्जलि दिने
१३) सामाजिक र मानवीय काममा वैरीको सहयोग र साथ त्याज्य हुने ।
ज्ञानका सन्दर्भमा हामीले अनुभूत गरेकका विषय र चाणक्यले सुझाएका रहस्य व्यवहारोपयोगी छन् । तिनले हामीलाई यथेष्ट मार्गदर्शन गर्दछन् । चाणक्यले महिलामाथि सङ्केत गरेको एउटा तथ्य भने अचम्मको छ । उनी महिलामाथि किमार्थ विश्वास गर्न सकिदैन भन्छन् । यो तथ्य आज पनि रहस्यको गर्भमै छ । यो निकै पेचिलो विषय हो । हाम्रा ज्ञानका स्रोतहरु अग्रजका सन्देश र हाम्रा जीवन भोगाइका उपलब्धि हुन् ।
डा.अधिकारी शिक्षाविद् हुनुहुन्छ ।