व्यापारी धनमद (नीति कथा)

११ भाद्र २०७७ ।
डा.गणेशराज अधिकारी ।
बनियाँलाई पनि माथ गरेर व्यापारी धनमद सफल हुँदै गयो । उसले हरेक व्यापारमा हात हाल्यो । कुनैमा पनि उसले टुट्टा सहनु परेन ।
चिनी व्यापार । मकै व्यापार । गहुँ व्यापार । धान र चामल व्यापार । श्रम व्यापार । जिन्सी तथा फेन्सी र कस्मेटिक व्यापार । यतिमात्र होइन चुन र घिउ व्यापारसम्म भ्यायो । उसको हौसलामा कहीँ पनि चोट लागेन ।
जग्गा, घर तथा संस्था व्यापार पनि भ्यायो । धनमदको मक्सद थियो कमाउ । आफ्नो मक्सद हासिल गर्न उसलाई नियम कानुनले रोकछेक कहीँ कतैबाट भएन । उसलाई यो कुरा क्यारेम बोर्डको गोटी चालेजस्तो थियो । स्ट्राइगर कसरी चलाउने जानकार थियो ।
धनमदको अभिमान अझ अग्लो भयो । आफूसँग उसले अकूत सम्पत्ति जम्मा पारिसकेको थियो । धनमदले छोएको थाहै पाएन । संसार मेरो इसारामा चल्छ भन्ने ठान्यो । यस हिसाबले ऊ सन्तुष्ट पनि थियो । समाजले पनि उसलाई मानभाउ दिएकै हो ।
नयाँ रहस्यको खोजीमा एक दिन ऊ घर नजिकको तलाउको एउटा मोडमा गएर उभियो । तरङ्गहरु ओइलाउँदै र सेलाउँदै थिए । कञ्चन जलकणको पर्खाइमा थियो । बल्ल तङ्ग्रन लाग्दा एउटा फट्याङ्ग्रोले पानीमा तरङ्ग आउने गरेर हाम्फाल्यो । तब फेरि तरङ्ग सुरु भयो । दिनभरिको प्रयासमा पनि उसले पानीमा शान्ति भेट्न सकेन । आफूले केही गर्न बाँकी नरहेको र सबै आफ्ना इसारामा चलेका छन् भन्ने उसको बुझाइको रहस्य यसले पनि खोल्न सकेन ।
भोलिपल्ट बिहानै फेरि तलाउको छेउमा गएर उभियो । हिजोको भन्दा केही शान्त तलाउ आज उसको अनुकूल नै थियो । उसले तलाउमा आफूजस्तै अर्को मान्छे देख्यो । अचम्म लाग्यो ! विचित्र ठान्यो ! कसरी यस्तो हुन सक्छ ? घोर आश्चर्य ! घरमा आएर आफ्ना कारिन्दालाई आदेश दियो, जाऊ । त्यो मान्छे पक्डेर ल्याऊ । पाता कसेर लडाऊ । म मैँ हुँ । अर्को कदापि हुन सक्दैन ।
आदेश निमेष भरमा नै तामेल भो । त्यस्तो मान्छे पत्ता लागेन । उसको घोषणा सही निक्ल्यो । एक्लो र सर्व शक्तिशाली ! उसको दम्भ फेरि अग्लियो ।
उसको परिवारमा अब उसकी एक छोरीमात्र बाँकी थिइन् । बाँकी अरु सबै सम्पन्न धनमदको लोभका कारण उपचार नपाएर अकालमै मृत्युवरण गरेका थिए । तिनी पनि एकदिन विमारी परिन् । उसले सकेसम्म उपचार गरेकै देखिन्थ्यो । तर न रोग पत्तो लाग्यो न उपचारले काम नै गर्न सक्यो । बैगुनी धनमदलाई बल्ल आपत् परेको महसुस भो । बाध्य भएर उसले ईश्वरलाई सम्झियो । रोइकराइ गर्न थाल्यो । एकजना योगी त्यही बाटो गरेर त्यतै आउँदै रहेछन् ।
योगी अन्तर्यामी थिए । उनले धनमदको कर्तुतका कारण यिनको रोग ठिक नभएको हो । यिनलाई रोग लागेकै होइन । बाबुको कुकृत्यका कारण यिनको मनमा चोट परेको छ । यिनले मद र अभिमान त्यागे समस्या हल हुन्छ । धनमदलाई मदले अन्धो बनाएको छ । उसले अहिले पनि उपचार गरिरहेको छैन । ऊ आडम्बरी र ढोंगी हो । म को हुँ धनमदलाई सोध्नुहोस् । उसले मलाई चिन्ने छैन । म बताउन्न यो भेद । उसैले बताओस् । धनमद घोसे मुन्टो लगाएर अपराधी झैँ उभिएको थियो । एउटा अर्को अपरिचित मान्छे त्यो भिड हटाउँदै आयो र भन्यो, ए , महामहिमहरु !! यो धनमदले धन आर्जन गरेको कथा सुनाउने हो भने तपाईँहरु यसलाई थुक्नुहुनेछ ।
धनमदले बर्वाद गरेका मान्छेमा एक जना यी योगी पनि हुन् । यिनी त ज्ञान र तपोबलका कारण योगी भए । अरु कैयौँ बेसाहारा भएका छन् । हामी धनका पछि लागेका छौँ धिक्कार छ ! यस्ता अपराधीलाई समाजसेवी बनाएर सम्मान गरेका छौँ । दुई चार पैसामा समाज किनिरहेका अपराधीलाई सम्मान गरेर सज्जनहरुलाई पाखा लगाइ रहेका छौँ । यिनमा केही मान्छे बिके भन्दैमा सबै बिक्छन् भन्ने भ्रम छ । स्रोत नै नबुझी कसैलाई पनि यसरी बोक्दा कैयौँ निरपराधीहरु अपराधी बनाएका छौँ । माण्डव्य ऋषिको कथा झैँ मार्मिक सन्दर्भ छ यहाँ । यति गर्दा पनि ऊ पश्चात्ताप गरिरहेको छैन । यो सब हाम्रो कमजोरी हो । हाम्रो समाजमा पनि यस्ता ढोंगीहरु नाटकीहरु होलान् । हाम्रो समाज चोरलाई चौतारो र साधुलाई सुली नहोस् !
डा.अधिकारी शिक्षाविद् एवम् साहित्यकार हुनुहुन्छ ।