न्यू टुलिप्स स्कूलद्धारा विद्यालयमा अध्ययनरत् बालबालिकाका अभिभावकलाई राहत वितरण

२९ कार्तिक २०७७ ।
न्यू टुलिप्स स्कूल कोटेश्वर काठमाडौंले विद्यालयमा अध्ययनरत् बालबालिकाका अभिभावकहरुलाई राहत वितरण गरेको छ ।
न्यू टुलिप्स स्कूल शैक्षिक गुठीको रुपमा २०५५ सालमा स्थापना भएको थियो ।
हाल न्यू टुलिप्स स्कूलमा करिब ४ सय ४ आर्थिक रुपमा पछि परेका बालबालिकाहरु अध्ययनरत् रहेका छन् ।
विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) महामारीको कारणले न्यू टुलिप्स स्कूल पनि २०७६ चैत्रबाट प्रभावित भएको छ ।

जिल्ला समन्वय समिति काठमाडौंका उपप्रमुख एवम् न्यू टुलिप्स स्कूल व्यवस्थापन समितिका सदस्य सरिता दाहाल शुरु देखि नैं विद्यालयको समग्र विकास, व्यवस्थापन र दिगोपनाका लागि सक्रिय भएर लागिपर्नुभएको छ ।
सबै कुराहरु बन्द हुँदै गए पनि ज्ञान आर्जन गर्ने काम बन्द गर्नुहुँदैन भन्ने उद्देश्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई २०७७ जेठ पहिलो साताबाट zoom, messenger र टेलिफोनको सहयोगले भच्यूअल रुपमा अध्यापन गराउने कार्य नियमितरुपमा सञ्चालन भैरहेको विद्यालयका अध्यक्ष होमनाथ अर्यालले जानकारी दिनुभएको छ ।

न्यू टुलिप्स स्कूलमा अध्ययनरत ४ सय ४ जना विद्यार्थीहरुमध्ये ७० प्रतिशत काठमाडौं उपत्यकामा रही अनलाइन पढाइमा संलग्न रहेका छन् भने करिब ३० प्रतिशत बालबालिकाहरु आफ्नो गृह जिल्लाबाटै अनलाइन पढाइमा संलग्न भइरहेको अध्यक्ष अर्यालले बताउनुभयो ।
न्यू टुलिप्स स्कूलले आर्थिक रुपमा अत्यन्तै पछि परेका ५ जना बालबालिकाहरुलाई मोबाइल फोन, १३ जना बालबालिकाहरुलाई पाठ्यपुस्तक र पचासौँ जना विद्यार्थीहरुलाई टेलिफोन रिचार्ज कार्ड उपलब्ध गराई उनीहरुको पढाइमा सहयोग पु¥याउँदै आएको अध्यक्ष अर्यालले जानकारी दिनभयो ।
कोभिड १९ बाट अन्य क्षेत्रका मानिसहरुलाई जस्तै यस विद्यालयमा पढ्ने बालबालिकाका अभिभावकहरुसमेत अत्यन्तै मारमा परी हातमुख जोर्न समेत समस्या परेकोेले शारीरिक परिश्रम गरी जिविकोपार्जन गर्ने ती परिवारलाई राहत उपलब्ध गराउने उद्देश्य लिई विद्यालयले राहत वितरण गर्दै आइरहेको छ ।
विद्यालयले यस अघि पनि राहत वितरण गरेको थियो ।
विद्यालयले दोस्रो पटक पनि राहत बितरण गरेको छ ।दोस्रो पटकको राहत बितरण कार्यक्रम बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति काठमाडौंका उपप्रमुख सरिता दाहालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।


सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुँदै बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठ र जिल्ला समन्वय समिति काठमाडौंका उपप्रमुख सरिता दाहालले विद्यालयबाट विद्यार्थीको शैक्षिक विकासका लागि भएका कार्यहरुको प्रशंशा गर्नुहुँदै विद्यालयको समग्र विकास र व्यवस्थापनका लागि आफूहरुले सक्दो पहल गर्ने बताउनुभएको थियो ।
दोस्रो पटकको राहत बितरणमा अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेका ३८ जना अभिभावकहरुलाई रु.३ हजार देखि ४ हजार सम्मको नगद राहत र २ जना परिवारलाई सोही रकम बराबरको खाद्य सामग्री वितरण गरिएको विद्यालयका अध्यक्ष होमनाथ अर्यालले बताउनुभएको छ ।
न्यू टुलिप्स स्कुलले विद्यार्थीहरुको शैक्षिक विकासका लागि हर संभव प्रयास गरिरहेको विद्यालयका अध्यक्ष होमनाथ अर्याल बताउनुहुन्छ ।

कार्यक्रममा न्यू टुलिप्स स्कुलका अध्यक्ष होमनाथ अर्यालले राहत बितरणको लागि सहयोग गर्ने ICFON Netherlands, Smile of Children Japan, काठमाडौंको बानेश्वरका बिकी भट्टराई र मोबाइल फोन उपलब्ध गराउनुहुने विद्यालयका सल्लाहकार गोपाल रायलाई मानवीय सेवाका लागि सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा न्यू टुलिप्स स्कुलमा कक्षा १० मा अध्ययनरत् तर भच्यूअल रुपमा अध्ययन गर्न अप्ठ्यारो अवस्थामा रहनुभएका निसा नेपालीलाई एकथान मोवाइल सेट पनि उपलब्ध गराइएको विद्यालयले जनाएको छ ।