कागेश्वरी मनोहरामा यहि मंसिर २१ गतेदेखि विद्यालय खुल्ने

८ मंसिर २०७७ ।

कागेश्वरी मनोहरा नगरपालिकामा यहि मंसिर २१ गतेदेखि विद्यालयहरु खुल्ने भएका छन् ।
नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले यहि मंसिर २१ गतेदेखि विद्यालयहरु खोल्ने निर्णय गरेको हो ।

नेपाल सरकार शिक्षा मन्त्रालयले स्थानीय तहले आफ्नो क्षेत्रमा कोभिडको प्रभावका आधारमा विद्यालय संचालन गर्न बैकल्पिक माध्यमबाट वा प्रत्यक्ष भौतिक उपस्थितिमा विद्यालय संचालन गर्न स्थानीय तह आफैले निर्णय लिन सक्ने अधिकार प्रत्यायोजन गरेकोले कोभिडको प्रभाव यथावत रहेमा यहि मंसिर २१ गते आइतबार देखि स्वास्थ्य मापदण्ड पूरा गरी विद्यालय संचालन गर्ने निर्णय गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले बताउनुभयो ।

सरोकारवालाहरुसंग छलफल र परामर्श गरी विद्यालयमा फेस टु फेस प्रत्यक्ष सिकाईको माध्यमबाट विद्यालय संचालन गर्नका नगरपालिकाभित्र संचालित सामूदायिक र संस्थागत विद्यालय संचालन गर्न नगर कार्यपालिका बैठकमा पेश गर्ने निर्णय गरिएको र नगर कार्यपालिका बैठकले चाडै निर्णय गर्ने र विद्यालयहरु संचालन हुने नगर प्रमुख थापाले जानकारी दिनुभयो ।
विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरी विद्यालय खोलिने नगर प्रमुख कृष्णहरि थापाको भनाई छ ।

कागेश्वरी मनोहरा नगरपालिका नगर शिक्षा समितिको बैठकमा नगर प्रमुख थापा, उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञावली, शिक्षा प्रमुख गोविन्द शर्मा, शिक्षा समितिका सदस्य शिक्षाविद् डा. गणेशराज अधिकारी लगायत समितिका सदस्यहरु, जनप्रतिनिधिहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।