कागेश्वरी मनोहरा नगरपालिकाद्धारा महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सम्मान

२० मंसिर २०७७ ।
कागेश्वरी मनोहरा नगरपालिकाले नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सम्मान गरेको छ ।

१७ औं महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिबस २०७७ को अवसरमा आज कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख कृष्णहरि थापाले नगरपालिकाका हरेक वडामा कार्यरत एक।एक जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सम्मान गर्नुभएको थियो ।

सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै नगर प्रमुख थापाले नगरको स्वास्थ्य सेवालाई सरल, सहज र प्रभावकारी बनाउन स्वास्थ्य स्वयम्सेविकाहरुको भूमिका महत्वपूर्ण रहेको बताउदै कोभिडको रोकथाम र नियन्त्रणमा महिला स्वास्थ्य स्वम्सेविकाहरुले खेलेको भूमिकाको प्रशंशा गर्नुभएको थियो ।

नगर प्रमुख थापाले आगामी दिनमा नगरबासीहरुलाई सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा पुराउने नगरको अभियानमा विशेष सक्रिय भएर लाग्न महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई आग्रह पनि गर्नुभएको थियो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा र प्रवक्ता राजाराम पुडासैनीले स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी र नगरबासीमैत्री बनाउन महिला स्वास्थ्य स्वयम्सेविकाहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको थियो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखा प्रमुख कुमार सिंह डाँगी र स्वास्थ्य अधिकृत एवम् कोभिड फोकल पर्शन लक्ष्मी कोइरालाले महिला स्वास्थ्य स्वयम्सेविकाहरुले गरेको कामको नगरपालिकाले उच्च मूल्यांकन गरेको बताउदै आगामी दिनमा पनि स्वास्थ्य सेवालाई सरल र सहज बनाउन थप सक्रिय भएर लाग्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रम शुरु हुनु अघि आज बिहान कागेश्वरी मनोहरा नगरपालिका कार्यालय थलीमा महिला स्वास्थ्य स्वयम्सेविकाहरुले र्याली पनि निकालेका थिए ।

र्याली नगरका विभिन्न भागको परिक्रर्मा गरी नगरपालिका कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।

कार्यक्रमको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले केक काटेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु र सामूदायिक स्वास्थ्य स्वयम् सेविकाहरुको सहभागिता थियो ।