टोखा नगरपालिकाका सफल प्र.प्र.अधिकृत पौडेलको तिलोत्तमा सरुवा, नगर प्रमुख अधिकारीद्धारा टोखाबाट बिदाई

२६ मंसिर २०७७ ।
काठमाडौंको टोखा नगरपालिकाका सफल प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलले टोखा नगरपालिकामा रहदा नगरको विकास र सेवा प्रवाहको क्षेत्रमा सक्रिय भएर कार्य गर्नुभएको थियो ।
नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउनका लागि प्रमुख प्रशासकीय अधिकृत पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

नगरपालिकाबाट हुने समग्र कामहरुको व्यवस्थापनमा जनप्रतिनिधिहरु लगायत सरोकारवालाहरुसंग पौडेलले समन्वयकारी भूमिका निर्वाह गरेका कारण नगरका कामहरुलाई प्रभावकारी बनाउन सहयोग पुगेको थियो ।
आज टोखा नगरपालिकामा भएको एक कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेललाई बिदाई गर्नुभएको थियो ।

सो अवसरमा नगर प्रमुख अधिकारीले टोखा नगरपालिकाको विकास र सेवा प्रवाहको क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत पौडेललाई धन्यवाद दिनुभएको थियो ।
आगामी दिनमा पनि नगरपालिकाको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुहुदै नगर प्रमुख अधिकारीले प्रमुख प्रशासकीय अधिकृत पौडललाई सरुवा भएर गएको कार्यालयमा पनि टोखाको जस्तै सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाई समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो ।
हालसम्म टोखामा आएका ७ जना प्रमुख प्रशासकीय अधिकृतहरुमध्ये सबैभन्दा लामो समय प्रमुख प्रशासकीय अधिकृतको रुपमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सेवा गर्नुभएको थियो ।
कार्यक्रममा टोखा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारी र आर्थिक प्रशासन शाखा प्रमुख ज्ञान बहादुर अधिकारीले प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल भएको समयमा नगरपालिकामा भएका कार्यहरुलाई छिटो, छरितो प्रभावकारी बनाउन सहज भएको बताउदै पौडेलको कार्यकाल सफल र नगरपालिकाको लागि ऐतिहासिक भएको बताउनुभएको थियो । कार्यक्रममा टोखा नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो । प्रमुख प्रशासकीय अधिकृत पौडेल सफल र सक्षम प्रशासक भएको कर्मचारीहरु बताउछन् ।