तिलोत्तमा नगरपालिकाको आ.ब.२०७८।०७९ को नीति तथा कार्यक्रम सार्वजनिक

२ असार २०७८ ।
तिलोत्तमा नगरपालिकाले आर्थिक बर्ष २०७८।०७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ ।
नगर प्रमुख बासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकाको आज भएको दशौं नगर सभाको पहिलो बैठकमा आर्थिक बर्ष २०७८।०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो ।
नगर प्रमुख घिमिरेले नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारलाई विशेष प्राथमिकता दिएको बताउनुभएको छ ।
कोरोनाबाट निधन भएका व्यक्तिका छोराछोरीलाई छात्रबृतिको व्यवस्था, अति बिपन्न ५० परिवारलाई घर बनाउन प्रति परिवार दुई लाख रुपैंयाँ अनुदान दिने नगर प्रमुख घिमिरेले घोषणा गर्नुभएको छ ।
नीति तथा कार्यक्रममा ग बर्गका अपांगहरुलाई बार्षिक ६ हजार रुपैंयाँ सामाजिक सुरक्षाभत्ता दिने उल्लेख छ ।
नगरपालिकाभित्रका जीर्ण पक्की सडकको मर्मतलाई प्राथमिकता राखिएको छ ।
चालु आर्थिक बर्षमा कायम रहेको करको दररेटलाई आगामी आर्थिक बर्षमा पनि निरन्तरता दिइएको छ ।
आगामी अशोज महिनाभित्र कर तिर्दा ३ महिनाको छुट दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।                                                                                                                          चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा टेकेर नगरको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीति सहितको स्पष्ट विकासको खाका निर्धारण गरी एकीकृत शहरी विकास योजना कार्यान्वयनमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम निर्देशित रहेको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभएको छ ।
बाल्यकालमा शिक्षा, स्वास्थ्य र पोषण ः युवा अवस्थामा सीप, उद्धमशिलता र रोजगारी, जीवनको उत्तराद्र्धमा जेष्ठ नागरिकलाई सम्मान, संरक्षण र महिलालाई समतामूलक अवसर सिर्जना गर्ने लगायतलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले जानकारी दिनुभयो ।
समृद्ध नगर ः खुशी नगरबासी भन्ने मूल नारा र लक्ष्यका नगर प्रमुख घिमिरेले नगरपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको नगर प्रवक्ता सुरेन्द्र श्रीले बताउनुभएको छ ।
तिलोत्तमा नगरपालिकाले सरकारी स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाई ७० बर्ष माथि उमेर समूहका जेष्ठ नागरिक तथा अपांगहरुलाई आधारभूत स्वास्थ्य सेवा घर घरमै प्रदान गर्ने व्यवस्था मिलाउने, कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउने, आर्थिक रुपमा बिपन्न नगरबासीहरुको स्वास्थ्य उपचारको लागि नगर प्रमुख बिपन्न नागरिक सहायता कोष स्थापना गर्ने, स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार निर्माण गर्ने, सबै सामूदायिक विद्यालयका बालबालिकाहरुको नियमित आँखा जाँचको व्यवस्था मिलाउने, सामूदायिक विद्यालयमा खानेपानी र ईन्टरनेट सेवाको व्यवस्था मिलाउने, अपांगता भएका व्यक्तिले संचालन गरेका उद्योग व्यवसायमा लाग्ने करमा शतप्रतिशत छुट दिने नगर प्रमुख घिमिरेले नीति तथा कार्यक्रममा उल्लेख गर्नुभएको छ ।
युवा तथा महिलासंग उपमेयर कार्यक्रम सञ्चालन गरी युवा तथा महिलाहरुलाई उद्यम, व्यवसायसंग जोडी सहलियतपूर्ण कर्जा दिने, एकल महिलाले सञ्चालन गरेका उद्योग व्यवसायमा लाग्ने करमा ५० प्रतिशत छुट दिने, कृषिको व्यवसायिकरण गर्ने, कृषिमा आवश्यक अनुदान दिने, सुकुम्बासी समस्या समाधान आयोगसंग समन्वय गरी सुकुम्बासी समस्या समाधान गर्न पहल गर्ने लगायतका कुराहरु नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममा नगर प्रमुख घिभिरेले मेयर नगर आवास कार्यक्रम सञ्चालन गरी अति बिपन्न समूदायका ५० परिवारलाई घर बनाउन प्रतिघर २ लाख रुपैंयाँ अनुदान उपलब्ध गराउने लगायत नगरबासीहरुलाई प्रत्यक्ष राहत पुग्ने खालका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको बताउनुभएको छ ।

तिलोत्तमा नगरपालिकाको नगर सभाको अर्को बैठक यहि असार ८ गते बस्ने र सो बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरिने नगर प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभएको छ ।