शंखरापुर नगरपालिकाको प्रशासकीय भवन निर्माणको शिलान्यास कार्यक्रम सम्पन्न

३ असार २०७८ ।
शंखरापुर नगरपालिकाको प्रशासकीय भवन निर्माणको आज शिलान्यास गरिएको छ ।
जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्य र शंखरापुर नगरपालिकाका नगर प्रमुख सुवर्ण श्रेष्ठले आज शंखरापुरमा आयोजित विशेष कार्यक्रममा शंखरापुर नगरपालिकाको प्रशासकीय भवन निर्माणको शिलान्यास गर्नुभएको थियो ।
सो अवसरमा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्य र उपप्रमुख सरिता दाहालले जिससले काठमाडौंका सबै पालिकाहरुको प्रशासकीय भवन निर्माणका लागि सहयोग गरिरहेको बताउदै शंखरापुर नगरपालिकाको प्रशासकीय भवनको निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गर्नुभएको थियो ।
सो अवसरमा जिसस काठमाडौंका प्रमुख राजवैद्य र उपप्रमुख दाहालले शंखरापुर नगरपालिका लगायत काठमाडौंका सबै पालिकाहरुको विकास र समृद्धिका लागि जिससले आवश्यक समन्वय गरिरहेको पनि बताउनुभएको थियो ।
कार्यक्रममा शंखरापुर नगरपालिकाका नगर प्रमुख सुबर्ण श्रेष्ठ र उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले प्रशासकीय भवन निर्माणका लागि सहयोग गरेकोमा जिसस प्रमुख शिवसुन्दर राजवैद्य र उपप्रमुख सरिता दाहाललाई धन्यवाद दिनुभएको थियो ।
कूल १२ करोड ४९ लाख ५ हजार ६ सय ७४ रुपैयाँको लागतमा निर्माण हुन लागेको शंखरापुर नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि जिल्ला समन्वय समिति काठमाडौंले ६० प्रतिशत अर्थात ७ करोड ४९ लाख ४३ हजार ४ सय ४ रुपैयाँ उपलब्ध गराउने जिसस काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले जानकारी दिनुभयो ।
शंखरापुर नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि जिल्ला समन्वय समिति काठमाडौं र शंखरापुर नगरपालिकाबीच यहि असार १ गते जिसस काठमाडौंमा सम्झौता भएको थियो ।
आगामी २ बर्ष भित्रमा प्रशासकीय भवनको निर्माण कार्य सम्पन्न गरिने नगर प्रमुख सुवर्ण श्रेष्ठले बताउनुभएको छ ।
कार्यक्रममा शंखरापुर नगरपालिकाका वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु लगायत जनप्रतिनिधिहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।