जिविस महासंघका पूर्व महासचिव न्यौपाने व्यास न.पा.को नगर प्रमुख हुने दौडमा

१२ चैत्र २०७८ ।
स्थानीय शासन तथा विकासका जानकार साविक जिल्ला विकास समिति महासंघका पूर्व कार्यकारी महासचिव डा. शेषरमण न्यौपाने तनहु जिल्लाको व्यास नगरपालिकाको नगर प्रमुख हुने दौडमा देखिएका छन् ।
व्यास नगरपालिका देशकै मध्ये भागमा रहेको अति रमणीय क्षेत्र हो ।
नेपाली कांग्रेसको किल्लाको रुपमा चिनिएको व्यास नगरपालिकामा यस भन्दा अगाडीको निर्वाचनमा पनि नेपाली कांग्रेसकै नेताहरु ताराप्रसाद श्रेष्ठ, ध्रुव वाग्ले र बैकुण्ठ न्यौपाने मेयरमा विजयी भएका थिए ।
यसपटक भने सोही पार्टीका एक दर्जन आकांक्षी देखिएका छन् ।
पार्टीको आधिकारीक नभई घोषणा गर्न नमिल्ने भनिएपनि सामाजिक सञ्जाल र स्थानीय समाचारमार्फत् सबैका आकांक्षा बाहिर आएका छन् ।
पछिल्लो समय लोकप्रियतामा बृद्धि भइरहेको सन्दर्भमा स्थानीय तह विकासका लागि कार्य गरेका समाजशास्त्रमा विद्यावारिधी गरेका डा.शेषरमण न्यौपानेले टिकट पाउने प्रबल संभावना देखिन्छ ।
नेपाली कांग्रेस प्रदेश कार्यसमितिका सदस्य डा. न्यौपाने प्रदेश तथा जिल्ला कार्य समितिको समेत प्रशिक्षकको विशेष भूमिकामा समेत छन् ।
स्थानीय सरकारका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा पनि कार्य गरेको डा. न्यौपानेसंग अनुभव छ ।
स्थानीय तहहरुले ठूलो काम भन्दा पनि स्थानीय जनताहरुलाई प्रत्यक्ष राहत पुग्ने खालका योजना बनाएर कार्य गर्नुपर्ने डा.न्यौपाने बताउँछन् ।
स्थानीयस्तरमा रोजगारी सिर्जना गरी मौलिक परम्पराको संरक्षण गर्न पनि त्यत्तिकै आवश्यक रहेको न्यौपानको भनाई छ ।
व्यास नगरपालिकाको हकमा २, ३ वटा सुबिधा सम्पन्न आवास योजना बनाएर तत्काल कार्यान्वयन गर्नुपर्ने मेयरको दौडमा रहेका डा. शेषरमण न्यौपाने बताउछन् ।