कागेश्वरी मनोहरालाई समृद्ध बनाउन नगरस्तरीय राजनीतिक सल्लाहकार समिति बनाइनेछ ः मेयर कार्की

०८ जेठ २०७९ ।
कागेश्वरी मनोहरा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख उपेन्द्र कार्कीले नगरलाई समद्ध बनाउन नगरस्तरीय राजनीतिक सल्लाहकार समिति बनाउने बताउनुभएको छ ।
नवनिर्वाचित मेयर कार्की, उपपमेयर शान्ता थापा लगायत वडा अध्यक्षहरुलाई प्रमाणपत्र बितरण गर्न निर्वाचन अधिकृतको कार्यालयले थलीमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्नुहुदै मेयर कार्कीले सो कुरा बताउनुभएको छ ।
कागेश्वरी मनोहराको विकास र समृद्धि बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताउदै मेयर कार्कीले सो समितिमा नगरमा भएका सबै राजनीतिक दलका नगरस्तरीय प्रतिनिधिहरुलाई समावेश गरिने बताउनुभयो ।
त्यसैगरी ज्येष्ठ नागरिकहरुका समस्या समाधान गर्नका लागि ज्येष्ठ नागरिकहरुको सहभागितामा ज्येष्ठ नागरिक सल्लाहकार समिति पनि गठन गरिने मेयर कार्कीले बताउनुभएको छ ।
नगरपालिकालाई सम्पूर्ण नगरबासीहरुको आस्थाको केन्द्र बनाउनका लागि सबै जनप्रतिनिधिहरुले कार्य गर्नुपर्ने बताउदै नगरपालिकामा कसैलाई बिभेद नगरी सबै नगरबासीहरुलाई समान व्यहार गरिने पनि मेयर कार्कीले बताउनुभयो ।
नगरपालिकाभित्रका सरोकारवाला सबैको सहभागितामा विकास निर्माणका कार्यहरु संचालन गरिने बताउदै नवनिर्वाचित मेयर उपेन्द्र कार्कीले पूर्वाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, शहरीकरण व्यवस्थापन, महिला, बालिबालिका, खेलकूद, कृषि लगायत नगरबासीहरुसंग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरुलाई प्राथमिकता दिएर कार्य गर्ने पनि प्रतिबद्धता जनाउनुभएको छ ।
नगरपालिकामा भएको खानेपानीको समस्या समाधान गर्नका लागि बृहत खानेपानी योजना सञ्चालन गरिने बताउदै मेयर कार्कीले बस्ति बिकासलाई व्यवस्थित गरिने बताउनुभयो ।
नगरको समग्र विकास र समृद्धिका लागि संघीय सरकार र प्रदेश सरकारसंग आवश्यक सहकार्य र समन्वय गरिने बताउदै मेयर कार्कीले नगरपालिकालाई सुशासनमैत्री बनाइने पनि बताउनुभएको छ ।
कार्यक्रममा नवनिर्वाचित उपेयर शान्ता थापाले नगरपालिकाको समग्र विकास र समृद्धिका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा निवर्तमान उपपमेयर बिन्दु पुडासैनी सिम्खडाले नगरको विकास र समृद्धिका लागि आफ्नो कार्यकालमा भएका कार्यहरुको सम्बन्धमा जानकारी गराउनुहुदै आगामी दिनमा पनि नगरको विकासका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका निर्वाचन अधिकृत शारदा राउतले नवनिर्वाचित नगर प्रमुख उपेन्द्र कार्की, उपपमेयर शान्ता थापा लगायत वडा अध्यक्षहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, नवनिर्वाचित वडा अध्यक्षहरु, निवर्तमान जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायत नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।