कागेश्वरी मनोहरा नगरपालिकाद्धारा गणतन्त्र दिवसको अवसरमा पत्रकारहरुलाई सम्मान

१५ जेठ २०७९ ।
कागेश्वरी मनोहरा नगरपालिकाले गणतन्त्र दिवसको अवसरमा नगरपालिका क्षेत्रमा बसोबास गर्ने पत्रकारहरुलाई सम्मान गरेको छ ।
नगरपालिकाले १५औं गणतन्त्र दिवसको अवसरमा थलिमा आयोजना गरेको वक्तृत्वकला, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नवनिर्वाचित नगर प्रमुख उपेन्द्र कार्कीले पत्रकारहरुलाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख कार्कीले वरिष्ठ पत्रकारहरु कृष्णमुरारी भण्डारी र बद्रि पौडेल तथा पत्रकारहरु राधेश्वाम दाहाल, शिव रेग्मी, जगन्नाथ दुलाल, प्रल्ह्राद पराजुली, सुदर्शन सिग्देल, सुनिल दाहाल, बिकल सापकोटा लगायत कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रमा बसोबास गर्ने पत्रकारहरुलाई सम्मान गर्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै नगर प्रमुख कार्कीले नगरपालिकाले नगरबासीलाई प्रत्यक्ष लाभ पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएर कार्य शुरु गरिसकेको बताउनुभएको छ ।
नगरपालिका क्षेत्रमा भएको खानेपानीको समस्या समाधान गर्नका लागि बृहत खानेपानी योजना सञ्चालन गर्न लागिएको बताउदै नगर प्रमुख कार्कीले नगरलाई सुशासनमैत्री बनाई नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभएको थियो ।
नगरपालिकाले सञ्चालन गर्ने विभिन्न योजना तथा कार्यक्रमहरुलाई जनसमक्ष पुर्याउन पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने भएकोले नगरपालिकाका गतिबिधिहरुलाई जनसमक्ष पुर्याउन र नगरपालिकालाई सकारात्मक दिशामा काम गर्नका लागि सहयोग गर्न पत्रकारहरुलाई आग्रह पनि गर्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख कार्कीले गणतन्त्र स्थापनाका लागि पत्रकारहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउदै नगरपालिका सञ्चार क्षेत्रसंग सहकार्य गरेर कार्य गर्न तयार रहेको पनि बताउनुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख कार्कीले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित भएर नगरपालिकाले कार्य गर्ने पनि बताउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नवनिर्वाचित उपप्रमुख शान्ता थापाले नगरबासीहरुलाई छिटो, छरितो र प्रभावकारी रुपमाले सेवा प्रवाह गर्न नगरपालिका लागिपरेको बताउदै नगरको समग्र विकास र समृद्धिका लागि आफू लागेको बताउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले गणतन्त्रको संस्थागत विकासमा संचार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउदै नगरपालिकाले संचार क्षेत्रसंग सहकार्य गरेर कार्य गर्ने र नगरबासीलाई प्रदान गरिने सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाइएको बताउनुभएको थियो ।
कार्यक्रममा वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारी तथा पत्रकारहरु राधेश्याम दाहाल र अजय फुयाँलले नगरको विकास र नगरपालिकाका कामहरुलाई प्रभावकारी बनाउन संचार क्षेत्रले आवश्यक सहयोग गर्ने बताउनुभएको थियो ।
गणतन्त्र दिवसको अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको बक्तृत्वकला प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने विदार्थीहरुलाई पुरस्कृत पनि गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्की र उपप्रमुख शान्ता थापाले बक्तृत्वकला प्रतियोगितामा प्रथम हुने आनन्द भैरब मा.वि.का सतिक्षा खड्का, द्धितिय हुने आनन्द भैरब मा.बि.का विष्णु नेपाली, तृतिय हुने गान्धी आदर्श मा.बि.का अर्जुन कोइराला र सान्त्वना हुने नेपाल राष्ट्रिय निर्माण मा.बि.का प्रशंशा पौडेललाई नगद सहित पुरस्कृत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति कबिर शर्मा र कांग्रेस कागेश्वरी मनोहरा नगर समितिका सभापति उद्धव दाहाल सहभागीता हुनुहुन्थ्यो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१ का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेल, ३ नं.वडाका वडा अध्यक्ष राममणी पुडासैनी, वडा नं.७ का वडा अध्यक्ष भिमसेन थापा, ८ नं.वडाका वडा अध्यक्ष हरिभक्त पुडासैनी र ९ नं. वडाका वडा अध्यक्ष अनिल थापा लगायत नगरसभा सदस्यहरु, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु, वडा सचिवहरु लगायत नगरपालिकाका कर्मचारीहरु र बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।