टोखा नगरपालिकामा सूचिकृत मेलमिलापकर्ताहरुको लागि आयोजित सामूदायिक मेलमिलाप सम्बन्धी आधारभूत पुनर्ताजगी तालिम कार्यक्रम सम्पन्न

 

१८ वैशाख २०७६ ।
टोखा नगरपालिकामा सूचिकृत मेलमिलापकर्ताहरुको लागि आयोजित सामूदायिक मेलमिलाप सम्बन्धी आधारभूत पुनर्ताजगी तालिम कार्यक्रम सम्पन्न भएको छ । सो तालिम कार्यक्रम यहि वैशाख १७ गते मंगलबारका दिन सम्पन्न भएको थियो ।
सो कार्यक्रमलाई संबोधन गर्नुहुँदै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले संविधान बमोजिम नगरपालिकाले नगरबासीहरुलाई न्याय प्रदान गरिरहेको बताउदै नगरपालिकामा हुने विविध समस्याहरुको निराकरणका लागि नगरपालिकाले आवश्यक कार्य गरिरहेको बताउनुभएको थियो ।
नगरपालिकाले मेलमिलापकर्ताहरुलाई ४८ घण्टे तालिम दिएर मेलमिलापको माध्यमबाट समस्याहरुको समाधान गर्ने गरेको जानकारी दिनुहुँदै नगर प्रमुख प्रकाश अधिकारीले तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न तालिमका सहभागि मेलमिलापकर्ताहरुलाई आग्रह पनि गर्नुभएको छ ।


कार्यक्रममा टोखा नगरपालिकाका उप-प्रमुख एवम् न्यायिक समितिका संयोजक ज्ञानमाया डंगोलले न्यायिक समितिले गरिरहेका कामहरुको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा अधिवक्ता कविता पाँडेले सामूदायिक मेलमिलापको बारेमा सामूदायिक मेलमिलापकर्ताहरुलाई जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा टोखा नगरपालिकाका जनप्रतिनिधिहरु, न्यायिक समितिका पदाधिकारीहरु, नगरपालिकाका कर्मचारीहरु र मेलमिलापकर्ताहरुको सहभागिता रहेको थियो ।