कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ काँडाघारीमा बृक्षारोपण कार्यक्रम सम्पन्न

 

२२ जेष्ठ २०७६ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ काँडाघारीमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ वडा सरसफाई समिति र एकीकृत काँडाघारी टोल सेवा समाजले विश्व वातावरण दिवसको अवसरमा काँडाघारीमा आयोजना गरेको कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले सो बृक्षारोपण कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुँदै नगर प्रमुख थापाले बृक्षारोपणको शुभारम्भ गर्नुहुँदै नगरपालिकाले सरसफाई र वातावरण क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुभएको थियो । स्वच्छ सफा हराभरा, बनाऔं कागेश्वरी मनोहरा भन्ने नाराका साथ नगरपालिका नगरलाई समृद्ध बनाउन लागि परेको बताउदै नगर प्रमुख थापाले हरियाली प्रवद्र्धन गरी नगरलाई स्वच्छ, सफा र हराभरा बनाउने नगरपालिकाको अभियानमा सहयोग गर्न नगरबासीहरुलाई आग्रह पनि गर्नुभएको थियो ।
डिभिजन वन कार्यालय काठमाडौंले बृक्षारोपणका लागि बिरुवा उपलब्ध गराएको कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ का वडा अध्यक्ष कुन्दन खड्काले जानकारी दिनुभयो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ का वडा अध्यक्ष कुन्दन खड्का, नगर कार्यपालिका सदस्य कला घिमिरे, नगर सदस्य एवम् एकीकृत काँडाघारी टोल सेवा समाजका अध्यक्ष डोलनाथ पोखरेल र कागेश्वरी मनोहरा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख लक्ष्मी कोइरालाले वातावरण संरक्षणका लागि वडास्तरबाटै कार्य शुरु गरिएको बताउदै वडा र समग्र नगरलाई नैं हरियाली बनाउन आफूहरु लागिपरेको बताउनुभएको थियो ।

कार्यक्रममा एकीकृत काँडाघारी टोल सेवा समाजका पदाधिकारीहरु लगायत नगरबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ मा रहेको न्यू स्टारपोल स्कुलले पनि वातावरण संरक्षणको क्षेत्रमा कार्य गरिरहेको छ । सो स्कुलका प्रिन्सिपल राजिव खरेल स्कुलले फाहोरमैला व्यवस्थापन, सरसफाई र वातावरण संरक्षणलाई विशेष प्राथमिकता दिएर कार्य गरिरहेका बताउदै कागेश्वरी मनोहरा नगरपालिकाभित्र भएका अधिकांश सामूदायिक विद्यालयहरुमा सरसफाई कार्यक्रम गरिएको जानकारी दिनुभएको छ ।