कागेश्वरी मनोहरा नगरपालिका ८ नं. वडा कार्यालयमा स्थानीय तहको निर्वाचन पश्चात भए गरेका कामहरुको सार्वजनिकीकरण कार्यक्रम तथा तेश्रो नगर सभाको लागि सल्लाह एवम् सुझाव संकलन कार्यक्रम सम्पन्न, नगरको समग्र विकासका लागि सक्रियतापूर्वक लाग्न नगर प्रमुख कृष्णहरि थापाको नगरबासीहरुलाई आग्रह

२६ जेठ काठमाडौं ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ मा स्थानीय तहको निर्वाचन पश्चात भए गरेका कामहरुको सार्वजनिकीकरण तथा तेश्रो नगर सभाको लागि सल्लाह एवम् सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।


कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ ले आयोजना गरेको सो कार्यक्रमलाई संबोधन गर्नुहुदै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले नगरपालिकाले सडकबाटो निर्माण, ढल, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुभएको थियो ।
सो अवसरमा नगर प्रमुख थापाले आफ्नो टोलको विकासमा सक्रिय भएर लाग्न टोलबासीहरुलाई आग्रह गर्नुहुदै नगरको समग्र विकासका लागि नगरपालिका सक्रियतापूर्वक लागेको पनि बताउनुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख थापाले नगरपालिकाले पूर्वाधार विकास र सामाजिक विकासका कामहरुलाई प्राथमिकता दिएर नगरबासीहरुको माग र चाहना बमोजिम नगरको विकास गरिरहेको बताउदै नगरको विकास र समृद्धिका लागि सकारात्मक राय सुझाव दिन नगरबासीहरुलाई आग्रह पनि गर्नुभयो ।


नगरलाई समृद्ध र हराभरा बनाउन नगरपालिका लागेको उल्लेख गर्नुहुँदै नगर प्रमुख कृष्णहरि थापाले नगरमा सुशासन कायम गरी नगरबासीहरुलाई छिटो, छरितो र प्रभावकारी रुपले सेवा प्रवाह गर्न नगरपालिका प्रतिवद्ध रहेको पनि बताउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ का वडा अध्यक्ष श्रीकृष्ण चापागाईले वडा कार्यालयले वडाबासीको माग र चाहना बमोजिमका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउदै वडा कार्यालयले सडकबाटो निर्माण, ढल, खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, जेष्ठ नागरिक, अपांग लगायतका क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुभएको थियो ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ कार्यालयले स्थानीय तहको निर्वाचन प्रश्चात निर्वाचित जनप्रतिनिधिहरुले पदबहाली गरेको २ बर्षको अवधिमा गरेका कार्यहरुको बारेमा वडा अध्यक्ष श्रीकृष्ण चापागाईले जानकारी पनि गराउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर सदस्य अष्टलाल श्रेष्ठ, नगर कार्यपालिका सदस्य मथुरा चापागाई, नेपाल कम्युनिष्ट पार्टी नेकपा काठमाडौंका सदस्य रुद्र चापागाई, नेपाली कांग्रेस ८ नं. वडा गोठाटारका इकाई सभापति हरिभक्त पुडासैनी लगायतले टोल, गाउँ, वडा र नगरको समग्र विकासका लागि जागरुक र सक्रिय भएर लाग्न नगरबासीहरुलाई आग्रह गर्नुहुँदै आगामी दिनमा नगरपालिकामा भैरहेका योजनाहरुको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ वडा अध्यक्ष कुन्दन खड्का, सल्लाहकार भरत फुयाँल, कानुनी सल्लाहकार बिदुर ढुंगाना, स्वास्थ्य शाखा प्रमुख लक्ष्मी कोइराला, ईन्जिनियर सन्देश ढकाल लगायत कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिहरु र नगरबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।