कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा रहेको गान्धी विद्यालयको ६६ औं स्थापना दिवस सम्पन्न

२१ माघ २०७६ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा रहेको गान्धी आदर्श माध्यमिक विद्यालयको ६६ औं स्थापना दिवस आज सम्पन्न भएको छ ।

विद्यालय स्थापना दिवसको अवसरमा आज विद्यालय परिषरमा एक विशेष कार्यक्रम आयोजना गरियो ।
कार्यक्रमलाई संबोधन गर्नुहुदै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले शिक्षा क्षेत्रको व्यवस्थापनमा नगरपालिका लागिपरेको बताउदै गान्धी विद्यालयको व्यवस्थापन र समग्र सुधारका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख थापाले नगरलाई व्यवस्थित र नमूना नगरपालिका बनाउन आफू लागिपरेको बताउदै नगरलाई समृद्ध र नमूना नगरपालिका बनाउने अभियानमा सहयोग गर्न नगरबासीहरुलाई आग्रह पनि गर्नुभएको थियो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका कानूनी सल्लाहकार बिदुर ढुंगाना, विद्यालय व्यवस्थापन समितिका सदस्य विश्वनाथ खनाल लगायत व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षकहरु, विद्यार्थीहरु र कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीय बासिन्दाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।