मनमोद प्रमोद भो !

तारा पाण्डे ।
२६ जेष्ठ २०७७ ।

बर्खाका भेलहरु बगेका छन्
तुफानी समुन्द्र झैँ
मानव मनोवेगमा
समुन्द्री आँधी उर्लेको छ
काया कल्प भर्न
खडेरी सुकेको छ !

रोग व्याधिले लखतरान
जीवनमा पथमा
एउटा फेरि नौलो पात झर्छ
एउटा नौलो पात पलाउँछ
असरल्ल वसन्त
समालिए पछि
नयाँ जीवनको शुभमुहूर्तमा
कोरोनाले भाँजो हालेपछि
मन कुँडिएको छ !
आवेग मन्द छ
मनोवेग शान्त छ
संवेग शिथिल अनि
परकम्प भएको छ
थर्रथर्र थर्कदै थर्कदै
आफ्नो आकाश
धर्तीमा घवरावट छ
खै रु के कसो हो ?
कस्तो छ ?
ढोगी दुनियाँ संशयको घर छ ।

दम्भ अभिमानको
शिखरमा सेखी गरेको
हिमाल समेत लाजले झुकेछ
वासन्ती वयमा
लठ्ठिएको मेरो हिमाल
वेधरातल गर्व गर्छ
चिन्दैन स्वयमलाई
आफै पनि जमिन खोज्दै छ ?
कि छैन ?
चिनोस् कसरी खै ?

समीप थियो हुनुपर्ने
तर खै कसरी हुनु ?
गला अँगाल्नै पर्ने
अकासियो उतै त्यतै
जान्दैन बाटो खै ऊ
तेर्सो खोज्द छ कठै !
के पाउला मार्ग खै ?
जान्दैन मलाई कवै ?
पढोस् दुनियाँले
वेदनका पाठ ती
मन्द पवन सरि यो वय
प्रसाद जेष्ठ मास भो ।

तारा पाण्डे
उप प्राध्यापक
पशुपति बहुमुखी क्याम्पस, चावहिल ।