कविता – सत्पुरुष (शार्दूलविक्रीडित छन्द)

२८ असार २०७७ ।

तिलस्मी प्रभास ।

आँखाले मनले दिमाग सबले, छोड्दैन छायासरि
श्रद्धाले निहुरिन्छ यो शिर उतै, पूजा गरी बेसरी
आँखामा मनमा भरेर करुणा, त्यागेर आफ्नो हित
छाडी ती सब काम ठप्पसँगले, हारेर खोज्ने जित ।

चिन्ताका नमुना थिएन किन हो, खोज्दा कतै भेटिनँ
शास्त्रार्थै मनले सुनेर सुखले, प्यासै कतै मेटिनँ
खोज्दै ज्ञान दया विवेक मनमा, टाढा पुगी थाकियो
छाडी खोज्न बसेर एक पलको, हेक्का सबै राखियो ।

ठूलाका महिमा सुनेर करले, लागेन आस्था कतै
स्वार्थीका बसमा परेर मन यो, भड्केन टाढा कतै
खोलाले पहरा भिजेन छहरा, उर्लेर के भेटिनू
पानी त्यो नुनिलो पिएर मनको तीर्खा त के मेटिनू ।

मूर्ख त्यो मदले लडेर बलले, देखाउँछन् पाखुरा
ज्ञानी ती सुखले पुगेर मनको, देखाउँछन् टाकुरा
बोली ती उसका सुनेर कसले, बुझ्दैन साँचो कुरा
बोलीमा भगवान् सुनिन्छ उसका, छातीभरि छन् छुरा ।

ज्ञानैको महिमा सुनेर नबुझी, जिस्किन्छ शास्त्रैसँग
अज्ञानी बबुरो डुबेर भवमा, निस्किन्छ कात्रैसँग
जात्रामा हुलमा कुदेर कसले, पैलो हुने हो यहाँ
एकान्तै वनमा पुगेर मनमा, आनन्द मिल्ला कहाँ ।

पीडाका तपले गरेर जपले, धोइन्छ आफ्नै मन
डाहाले रिसले गरेर उछितो, प्रमाद बोक्ने तन
त्यागी ती मनले सबै सुखहरू, छाडेर आनन्दले
बस्छन् सन्तहरू रमेर तपमा, ज्ञानी बनी ध्यानले ।